१२ दुग्ध उत्पादक सहकारीलाई डेस्कटप, कम्प्युटर तथा प्रिन्टर सेट वितरण

२०७८ आश्विन ८ गते प्रकाशित

काठमाडौं । राष्ट्रिय दूग्ध विकास बोर्डले विभिन्न जिल्लाका १२ वटा जिल्ला दूग्ध उत्पादक सहकारी संघहरुलाई डेस्कटप, कम्प्युटर तथा प्रिन्टर सेट वितरण गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार विभिन्न जिल्लाका १२ वटा सहकारी संघलाई कम्प्युटर, डेस्कटप र प्रिन्टर सेट वितरण गरिएको हो ।

शुक्रबार बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले छनौटमा परेको सहकारी संघ तथा त्यसका प्रतिनिधीलाई उक्त सामग्री हस्तान्तरण गरेको थिए । दूग्ध संकलन, बजारीकरण, मूल्य, लागतलगायतका तथ्यांकहरु कागजी रुपमा नभइ आधुनिक र प्रविधियुक्त तरिकाले राख्न उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त विद्युत्तिय सामग्री सरकारको अनुदानबाट जिल्लामा दूग्ध संकलन र बजारीकरणमा योगदान पुर्याउने जिल्ला दूग्ध उत्पादक सहकारीलाई छनोट गरि वितरण गरिँदै आएको छ । विद्युत्तीय सामग्री हस्तान्तरण कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक यादवले सहकारी संघहरुले राख्नुपर्ने कारोबार र तथ्यांकहरु विद्युत्तीय माध्यमबाट आवश्यक परेको बेलामा उपलव्ध गराउन सहयोग पुग्ने बताए ।

वितरण गरिएका सामग्रीहरुको अधिकतम सदुपयोग गर्दै दूध संकलन, वितरणलगायतका तथ्यांक विश्लेषण गर्नका लागि उपयोग गर्न आग्रह गरे ।

छनौटमा परेर कम्प्युटर, डेक्सटप र प्रिन्टर सेट पाउनेहरुमा ललितपुर जिल्ला दूग्ध उत्पादक सहकारी संघ, तनहुँ जिल्ला दूग्ध उत्पादक सहकारी संघ, जिल्ला दूग्ध उत्पादक सहकारी संघ इलाम, चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संघ, बागलुङ जिल्ला दूग्ध उत्पादक सहकारी संघ, दूग्ध उत्पादक सहकारी संघ सप्तरी, जिल्ला दूग्ध सहकारी संघ धनुषा, भेरी दूग्ध उत्पादक सहकारी संघ कोहलपुर बाँके, सप्त गण्डकी दूग्ध उत्पादक सहकारी संघ कास्की, दूग्ध उत्पादक जिल्ला सहकारी संघ इटहरी सुनसरी, मकवानपुर जिल्ला सहकारी संघ चौकीटोल हेटौडा र जिल्ला दूग्ध उत्पादक सहकारी संघ सिन्धुली रहेका छन् ।