ऊर्जामन्त्री भुसालसँग विश्व बैंकका उपाध्यक्षको शिष्टाचार भेटवार्ता

२०७८ आश्विन ८ गते प्रकाशित

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलले शुक्रबार शिष्टाचार भेट गरेको छ । मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल भएको छ ।

सो अवसरमा मन्त्री भुसालले नेपालको विकासमा विश्व बैंकले पु¥याउँदै आएको योगदानको कदर गर्दै आगामी दिनमा लगानी थप विस्तार हुने र समयमै परियोजना सम्पन्न भई जनताले उपभोग गर्ने अवस्थामा पुग्ने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘हामी छिटो विकास गर्न चाहन्छौँ, हामीलाई समयको अधिक महत्व छ ।’ मन्त्री भुसालले जनताको अधिकारका लागि आफूले निरन्तर सङ्घर्ष गरेको उल्लेख गर्दै वातावरण र जनताको अधिकार एवं पहिचानाका विषयमा सँधै सचेत रहने विश्वास दिलाइन्।

भेटमा विश्व बैंकका उपाध्यक्ष सेफरले नेपालको आर्थिक विकासमा विश्व बैंकले पु¥याउँदै आएको सहयोगका विषयमा जिज्ञासा राखे। नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नती, गरिबी निवारणलगायत क्षेत्रमा विश्व बैंकले लगानी गर्दै आएको उल्लेख गर्दै उनले आफूहरू ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताए।

छलफलका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रशारण लाइन समयमै सम्पन्न नहुँदा ऊर्जा खेरजाने अवस्था आएको उल्लेख गर्दै ऊर्जा विकासका लागि आफूहरूलाई समयको चाप रहेको बताए ।

छलफलमा मन्त्रालयका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिवद्वय मधुकर प्रसाद राजभण्डारी र बाबुराम भण्डारीको सहभागिता थियो ।

विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रमा नेपाल–भारत विद्युत् प्रशारण तथा व्यापार आयोजनाअन्तर्गत नेपाल भित्रको विद्युत् प्रशारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापार सहजीकरण गर्दै आएको छ । सोहीअन्तर्गत ४०० केभीको हेटौंडा–ढल्केबर–इनरुवा प्रशारण लाइन र हेटौंडा–भरतपुर–बर्दाघाट २२० केभीको प्रशारण लाइन विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको छ ।

त्यस्तै विश्व बैंकको सहुलियत ऋणमा एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत अध्ययन भइरहेको छ । यही बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसालसहितको सरकारी टोली र विश्व बैंकका उपाध्यक्ष सेफरको टोलीले माथिल्लो अरुणको स्थलगत अवलोकन गरेको थियो ।