रासायनिक मललाई छुट्टै प्रणालीमार्फत आयात गर्न दिन चीन सहमत

२०७८ आश्विन १२ गते प्रकाशित

काठमाडौं । नेपाल—चीन व्यापारिक नाका तातोपानीबाट रासायनिक मललाई छुट्टै प्रणालीमार्फत आयात गर्न दिन चीन सहमत भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार, सीमा नाकामा देखिएको पछिल्लो समस्या समाधान गर्दै रासायनिक मललाई छुट्टै प्रणाली बनाएर आयात गर्न दिने सहमति चीनले जनाएको छ ।

मंगलबार एक कार्यक्रममा मन्त्रालयका सचिव दिनेश भट्टराइले सीमा नाकाको समस्या तत्काल हटाएर निर्यात बढाउन चीन सहमत भएको बताए ।
उनले भने, ‘नेपाल प्रवेश गर्ने कन्टेनरको हालको संख्यालाई दोब्बर बनाएर ४० पुर्‍याउने र रासायनिक मललाई छुट्टै प्रणालीबाट आयात गर्न दिने सहमति चीनले जनाएको छ ।’

औपचारिक रुपमा पत्र नआईसकेको भए पनि अब एउटा नाकाबाट दैनिक २० कन्टेनर सामान भित्रिने उनले बताए । अहिले तातोपानी र केरुङबाट दैनिक २० हाराहारी केन्टेनरले सामान नेपालतर्फ आयात गरिरहेका छन् ।

यस्तै चीनले नेपालले उत्तरी नाकाबाट आयात गरिरहका रासायनिक मललाई छुट्टै प्रक्रियामार्फत छिटो ढुवानी गराउने जनाएको छ । हालको दैनिक कोटाभन्दा अलग्गै राखेर जतिसक्दो छिटो मल नेपाल पठाउने जानकारी चिनियाँ पक्षले दिएको सचिव भट्टराईले बताए ।