विदेशबाट फर्केर भैँसी र कुखुरापालन

२०७८ आश्विन १५ गते प्रकाशित

गलेश्वर । प्रायः नेपाली युवा रोजगारीका लागि विदेश जान मरिहत्ते गर्छन् । उनीहरुको पहिलो रोजाइ बैदेशिक रोजगारी नै हुने गर्दछ ।

म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका युवा सुरेश ढुङ्गानाले आफ्नै पौरखले गाई, भैँसीको गोठ र कुखुराको खोर बनाएका छन। दशवर्ष अरबको खाडीमा पसिना बगाएका ३७ वर्षीय उनले पेशा परिश्रम र पैसालाई जीवनसँग जोडेर सम्पन्नता र प्रशन्नताको महक प्राप्त गर्ने ज्ञान अरबको खाडीबाट प्राप्त गरे। “ मैले खाडीमा जीवनको महत्व र स्वदेशको सम्भावनालाई बुझेँ”, उनले भने।

स्वदेशमै सम्भावना देखेर गाउँ फर्किएका उनलाई गाउँ आएपछि साथीले अमेरिका आग्रह समेत गरे । उनले अमेरिका जाने होइन गाउँमै अमेरिकामा भन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाए ।

साथीहरुले उनका विचारलाई उडाए । बुद्धि नभएको भने । उनी आफ्नो निर्णयमा अडिग रहे । अनि सुरु गरे, भैँसीपालन व्यवसाय । यो आठ वर्ष पहिलेको कुरा हो । यसबीचमा उनको जीवनमा पनि धेरै आरोहअवरोह आए । अनेकौँ घुम्ती र मोड आए र गए । उनले आठ वर्ष अगाडि ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ स्थापना गरेर व्यवसाय सुरुआत गरेका थिए। त्यही फार्ममा अहिले २२ मुर्रा जातका भैँसी र दुई जर्सी गाई दुहुना छन् ।

उनी अहिले दैनिक १५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्छन। दुई भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले उनले मासिक रु पाँच लाख आम्दानी गरेका छन । सबै खर्च कटाएर मासिक करिब दुई लाखको हाराहारीमा बचत हुने उनको भनाइ छ । फार्ममा अहिले रु ५० लाख जति लगानी भइसकेको उनले बताए। भैँसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिएका थिए ।

“बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म भैँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दूध पु¥याएउन जान्छु । सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरि डेरी उद्योगमा दैनिक १५० लिटर दूध पु¥याएपछि बल्ल शरीरमा फूर्ति आउँछ”, उनले भने।

प्रतिलिटर रु ९० मा दूध बिक्री हुने गरेको उनले बताए। व्यवसायी ढुङ्गानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दूध पु¥याउछन। “बजारको अभाव छैन, जति पनि बिक्री हुन्छ तर गुणस्तरलाई खस्कन दिनुहुँदैन”, ढुङ्गानाले भने।

पशुपालन व्यवसायमा परिश्रम गर्नसके विदेशमाभन्दा राम्रो कमाइ गर्न सकिने अनुभव उनले सुनाए। उनले पाँच रोपनी जग्गामा फार्म बनाएका छन भने फार्ममा दुई जनालाई रोजगारीसमेत दिएका छन् ।
भैँसीको स्याहार सुसारदेखि दूध दुहुने काममा आफैँ खटिने ढुङ्गानले विदेशमा गएर अरुको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्ये कमाइ गर्न सकिने बताउछन।

उनको सफलताको कथा यत्तिकैमा सकिदैन । भैँसीपालनसँगै उनले कुखुरापालन पनि सुरु गरेका छन् । अहिले उनका फार्ममा दुई हजार ३०० ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने उनको मासिक रु आठ लाख पुग्ने जनाइएको छ ।