काठमाडौं । केन्द्रीय दूग्ध सहकारी संघ लिमिटेडले कच्चा दूधको किसान मूल्यमा वृद्धि गर्न सरकारसँग माग गरेको छ । विगत लामो समयदेखि कच्चा दूधको किसान मूल्य वृद्धि नभएको र पटक पटक मूल्य वृद्धिको माग गर्दै आए पनि कार्यान्वयन नभएको संघले जनाएको छ ।
दूग्ध उत्पादक किसानको आयस्रोत हिजोभन्दा आज झन झन घट्न गएको र कोरोना महामारीले थप किसानलाई नोक्सानी पुगेको भन्दै संघले कच्चा दूधको किसान मूल्य वृद्धि गर्न माग गरेको छ ।
संघले आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी कच्चा दूधको किसान मूल्य वृद्धि गर्न माग गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र राष्ट्रिय दूग्ध विकास बोर्डलाई निवेदन बुझाएको छ ।
‘कोभिडबाट सिर्जित समस्याले दूधको खपत कम भइ, अनुत्पादक पशु वस्तु बढेको यस पेशाबाट किसान पलायन हुने अवस्था भएको हुँदा दूधको मूल्य वृद्धि गर्न मन्त्रालय र राष्ट्रिय दूग्ध विकास बोर्डमा अनुरोध हुँदा समेत आजसम्म दूधको मूल्य वृद्धि हुने कुनै प्रक्रिया समेत नभएकाले पुनः ध्यानाकर्षण गराउने निर्णय भएको’ संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।