बागलुङ । बागलुङ नगरपालिकाले अनाधिकृत रुपमा कार्यालय हड्प्दा कृषि ज्ञान केन्द्र बागलुङका कार्यालयका काम प्रभावित भएका छन् । कार्यालय साँघुरिएको छ भने भण्डार(स्टोर) नहुँदा ज्ञान केन्द्रमार्फत अनुदानमा वितरण हुने यन्त्र, उपकरण भण्डारण गर्न सकिएको छैन् । फलस्वरुप, किसानलाई अनुदानका सामान पसल वा बाहिरबाटै वितरण गर्नुपर्ने बाध्यता छ ।
यसअघि पर्वतको कुश्माबाटै बागलुङलाई हेर्ने गरी स्थापना भए पनि पायक नपर्ने भएपछि गत २०७७ माघ २१ गते बागलुङ बजारमा पनि स्थापना भयो । साविकको बागलुङ बजारस्थित कृषि विकास कार्यालय परिशरमा ज्ञान केन्द्रको कार्यालय राखियो । तर, बागलुङ नगरपालिका–३ रात्माटामा आफ्नै तीन तले भवन खाली राखेर ज्ञान केन्द्र रहेकै कार्यालय कब्जा गरेर बस्दा ज्ञान केन्द्रलाई समस्या परेको हो ।
बागलुङ नगरपालिकाले कार्यालय कब्जा गरेर आफ्नो कार्यालय सञ्चालन गर्दा कृषि ज्ञान केन्द्रका कार्यालयका कामहरु प्रभावित भएको केन्द्र प्रम्ख भानुभक्त भट्टराइले बताए । ‘कार्यालय बागलुङ नगरपालिकाले कब्जामा हुँदा तालिम, बैठकजस्ता कार्यक्रम सञ्चालन गर्न र सामग्री स्टोर गर्न समस्या भइरहेको छ’ उनले भने, ‘स्टोर नहुँदा त किसानलाई अनुदानमा वितरण गर्ने यन्त्रण, उपकरण पसलबाटै वितरण गर्नु परेको छ ।’
प्रदेश सरकारअन्र्तगत सञ्चालनमा रहेको कृषि ज्ञान केन्द्रले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सञ्चालन गर्ने कार्यक्रम पनि कार्यान्वयन गर्छ । केन्द्रले किसानलाई विभिन्न अनुदान कार्यक्रम सँगसँगै तालिम, सीप विकास लगायतका कृषि कार्यक्रमहरु अघि बढाउने गर्छ ।
केन्द्रले अनुदानमा वितरण गर्ने उपकरण तथा सामाग्री स्टोरको समस्या टड्कारो देखिएको छ । यस विषयमा बागलुङ नगरपालिकाले भने नगरबासीलाई दिने सेवाको पहुँच बढाउन बागलुङ बजारमा पनि शाखा कार्यालय राखिएको जनाएको छ । ‘हामीले नगरबासीले पाउने सेवा र कामहरुको सहजता र पहुँच बढाउन आफ्नो कार्यालयल बागलुङ बजारमा खोलेका हौं’ उनले भने, ‘अहिले पनि अधिकांश सेवा रात्माटाबाट पनि पाइन्छ ।’
‘कृषि ज्ञान केन्द्रले कृषिका धेरै कार्यक्रमहरु गर्छ । त्यसमा उहाँहरुलाई कार्यालय सानो र साँघुरो हुन भएको जस्तो हुन सक्छ तर, नगरपालिकाले कुनै ‘डिस्टर्ब’ गरेको छैन् ।’ पौडेलको भनाई छ ।
उता, केन्द्र प्रमुख भट्टराइले गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालयलगायतको संयुक्त पहल भएमा केन्द्रको कार्यालय बागलुङ नगरपालिकाको कब्जाबाट मुक्त हुने बताउँछन् ।
केन्द्रको आन्तरिक समस्यामा पनि
कृषि ज्ञान केन्द्र बागलुङ आफ्नै आन्तरिक समस्या पनि छ । एकातिर कार्यालय सहयोगी छैनन् भने अन्यतर्फ पनि कर्मचारीको अभाव छ । म्याग्दीबाट हस्तान्तरण गरेर ल्याइ चलाएको निसान पिक अप ६३९२ को अवस्था पनि जीर्ण छ । उक्त पिक अप सवारी २१ वर्ष पहिले ल्याएर चलाइएको थियो ।
सो पिक अप जीर्ण भएकाले चालू आर्थिक वर्षमा नयाँ सवारीको आवश्यकता खड्किएको भट्टराइ बताउँछन् । त्यस्तै, केन्द्रले विगतदेखि नै सञ्चालन गरिरहेका कार्यक्रममा बजेट व्यापक कटौती भएको छ । यसले पनि विगत महत्वपूर्ण कार्यक्रम अघि बढाउन सक्ने अवस्था नरहेको भट्टराइ बताउँछन् ।