टान पश्चिमाञ्चलद्वारा धवलागिरि हिमाल आरोही महिला सम्मानित

२०७८ आश्विन २० गते प्रकाशित

काठमाडौं । धवलागिरि हिमालका प्रथम आरोही महिला पूर्णिमा श्रेष्ठलाई मङ्गलबार पोखरामा ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) पोखराले सम्मान गरेको छ । नेपाली आरोही महिलाले आठ हजार १६७ मिटर अग्लो हिमाल आरोहण गरेर कीर्तिमान राख्न सफल भएको भन्दै उनीहरुलाई सम्मान गरिएको टान पश्चिमाञ्चलका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले जानकारी दिए ।

उनले कोरोना महामारीमा सुस्ताइरहेको पर्यटनलाई उठाउन पर्वतीय पर्यटनको पनि महत्पूर्ण भूमिका हुने जनाउँदै पूर्णिमा र पासाङ ल्हामु शेर्पाले साहस तथा लगावले अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको शिर ठाडो गराउन सफल भएको धारणा राखे

सम्मानित आरोही पूर्णिमाले आरोहण आफैँमा चुनौतीपूर्ण काम भए पनि आफूले आत्मविश्वास र साहसका साथ धवलागिरि हिमाल आरोहण गर्न सफल भएको बताए । कार्यक्रममा अर्की आरोही पासाङ ल्हामु अस्वस्थ भएका कारणले कार्यक्रममा उपस्थित हुन सकेनन

सेभेन समिट ट्रेकिङ कम्पनीबाट दुवै जना यही असोज २ गते आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्न सफल हुनुभएको थियो । फोटो पत्रकारसमेत रहनुभएकी पूर्णिमाले यसअघि सन् २०१८ मा सगरमाथा, सन् २०१७ मा मनास्लु र २०१९ मा आमाडब्बलम तथा सन् २०२१ मा अन्नपूर्ण हिमालसँगै धवलागिरि हिमाल पनि आरोहण गर्न सफल भए ।

टान पश्चिमाञ्चलको सचिवालयमा संस्थाका पदाधिकारी र सदस्यको उपथितिमा आयोजित सम्मान कार्यक्रम सम्पन्न गरेको संस्थाका सचिव मिलन तिवारी जानकारी दिए ।