न्युनतम समर्थनमा मूल्यमा धान खरिद प्रक्रियामा किसान आयोगले अनुगमन गर्ने

२०७८ आश्विन २० गते प्रकाशित

काठमाडौं । राष्ट्रिय किसान आयोगले सरकारले निर्धारण गरेको धानको न्युनतम समर्थनमा मूल्यमा धान खरिद प्रक्रिया देखिएको समस्या समाधानका लागि पहल गर्ने भएको छ ।

सरकारले घोषणा गरेको धानको समर्थन मूल्य पर्याप्त नभएको र थोरै परिमाणमा मात्र खरिद भएको भन्ने किसानको गुनासो बढेपछि आयोगले किसानलाइ थप प्रोत्साहन हुने गरि समस्या सम्बोधन गर्ने भएको हो । आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाका प्रतिनिधिहरुलाइ बोलाएर पहिलो चरणमा छलफल गरिसकेको छ । जसमा धानको समर्थन मूल्य पर्याप्त तोक्न, किसानलाई थप प्रोत्साहन गर्ने गरि धान खरिद प्रक्रिया अघि बढाउने, किसानबाट बढि भन्दा बढी धान खरिद गर्ने र त्यसका लागि आवश्यक पूवाधार(गोदामघर,भण्डारगृह) लगायतका संरचनाको व्यवस्था गर्ने सहमति भएको छ ।

त्यस्तै खाद्य कम्पनीले समर्थन मूल्यमा किसानको धान बढी भन्दा बढी गर्ने र धान खरिद प्रक्रियाको आयोगले प्रभावकारी अनुगमन गर्ने भएको छ । धान खरिद नहुँदा विगतका वर्षमा किसानले ब्यहोर्नु परेको नोक्सानीको क्षतिपूर्ति दिलाउने र धान खरिदका लागि बजेट थप गर्न सरकारसँग अनुरोध गरिने आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगालले सरकारले घोषणा गरेको धानको समर्थन मूल्यमा आधारित धान खरिद प्रक्रिया देखिएको समस्या र किसानको गुनासो सम्बोधन गर्ने दिशामा अघि बढेको बताए । उनले किसानलाइ थप प्रोत्साहन दिलाउन र बढी उत्पादन गरेको धान सरकारले तोकेकै समर्थन मूल्यमा खरिद गरिदिन्छ भन्ने अनुभूति गराउन आयोग प्रतिवद्व रहेको बताए ।

यस वर्षको लागि सरकारले धानको समर्थनमा मूल्य तोकिसकेको छ । गत वर्षको तुलनामा १७ रुपैयाँ बढाएर समर्थन मूल्य तोके पनि त्यो पर्याप्त नभएको किसानको गुनासो रहँदै आएको छ ।