काठमाडौं । नेपाली सेनाको फस्ट रैफल गणले ‘गो ग्रिन’ कार्यक्रमअन्तर्गत एक व्यक्ति एक बिरुवा रोपन अभियान सञ्चालन गरेको छ । वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले स्थानीयवासीको सहयोगमा सेनाले विभिन्न सामुदायिक वनमा बिरुवा रोपिरहेको हो ।
यसैबीच हतुवागढी गाउँपालिकाको सतभैया र भोजपुर नगरपालिका–१२ पारपानीमा रहेको इनामे सामुदायिक वनमा धुपी सल्ला, तेजपत्ता, पयूँ, लालीगुँरास, मसलालगायत दुई हजार बढी बिरुवा रोपिएको छ ।
यो अभियानअन्तर्गत जिल्लाभर १२ हजार बिरुवा रोप्ने योजना रहेको गणपति विश्वनाथ तिमल्सिनाले जानकारी दिए । उनले भने, “वातावरण संरक्षण गर्न यो अभियानअन्तर्गत हामीले जिल्लाभर १२ हजारभन्दा बढी बिरुवा रोप्ने लक्ष्य लिएका छौँ । यसले यहाँको वातारवरणको संरक्षणमा केही टेवा पुग्ने आशा गरेका छौँ ।
सेनाले थालेको अभियान सराहनीय रहेको र वनकोे संरक्षण तथा विकासमा स्थानीय सरकारले सहयोग गर्ने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । उनले भने , “सेनाले थालेको यो अभियान स्वागतयोग्य छ । नाङ्गा पाखालाई हरियाली बनाउन यस्तो अभियान सञ्चालन गर्न आवश्यक छ । सेनाले थालेको अभियानलाई हामी पनि साथ र सहयोग दिएर अगाडि बढ्छौँ ।”
रोपिएका बिरुवालाई नेपाली सेना तथा स्थानीय तहले संरक्षण गर्ने बताएका छन् । अन्य स्थानमा पनि वृक्षरोपन गर्ने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ । वृक्षरोपनका लागि डिभिजन वन कार्यालयले सेनालाई बिरुवा उलब्ध गराउँदै आएको त्यहाँका प्रमुख विष्णुलाल घिमिरले जानकारी दिए । उनले भने , “हामीले नाङ्गाडाँडालाई हरियाली बनाउने उद्देश्यले विभिन्न गतिविधि बढाइरहेका छौँ ।
नेपाली सेनाले पनि अभियान नै सञ्चालन गरेर वृक्षरोपनका काम गरिरहेको छ । यसले वन कार्यालयको अभियानमा साथ मिलेको छ । पछिल्लो समय जिल्लामा वृक्षरोपनका गतिविधि बढेको छ । विषेश गरेर स्थानीयहरुमा फलफूल तथा जडीबुटीका बिरुवा रोपनमा चासो देखिएको छ ।”
बर र पिपल संरक्षण
वन कार्यालयले बर, पिपल रोप्ने अभियान सञ्चालनमा ल्याएको छ । सडक विस्तार तथा मानवीय गतिविधिका कारण सयौँ वर्ष अगाडि रोपिएका बर र पिपल मासिन थालेकाले कार्यालयले यस्तो अभियान सञ्चालनमा ल्याएको हो ।
बर पिपलबाट प्रशस्त मात्रामा अक्सिजन प्राप्त हुने तथा वातावरण हराभरा राख्न ठूलो टेवा पु¥याउने भएकाले सार्वजनिक तथा खुला क्षेत्रमा रोप्नका लागि अभियान सञ्चालन गरिएको हो । धेरै मात्रामा बर र पिपल विस्तार गर्न सके बस्तीमा बाँदर आउने क्रमसमेत रोकिने छ । बर, पिपलका फल खाएर बाँदर अल्मलिने हुँदा त्यसबाट किसानको अन्न बालीमा कम क्षति हुने कार्यालय प्रमुख घिमिरेले बताए ।
उनले भने, “पछिल्लो समय धेरै वर्ष पुराना बर र पिपलका रुख मासिँदै गएका छन् । अधिकांश ठाउँमा तिनका ठुटा मात्र देखिन्छन्, त्यसले वातावरणलाई प्रत्यक्षरूपमा हानी पुगिरहेको छ । त्यसैले हामीले अहिले झापाबाट बिरुवा मगाएर अभियानका रुपमा काम गर्दै आएका छौँ ।”
त्यस्तै बाँदरले बस्तीमा आएर क्षति गर्न थालेपछि सामुदायिक वनमा इस्कुस रोप्नका लागि आग्रह गरिरहेका छौँ । बाँदरको लागि खाने आहारा वन क्षेत्रमा नै उत्पादन गर्न सकेमा गाउँ बस्तीमा कम क्षति गर्ने अनुमान गरिएको छ ।
प्रमुख घिमिरेले भने, “हाम्रा कारणले नै बाँदरलाई बस्तीमा आउने अवस्था बनाएका छौँ । वन्यजन्तुलाई हाम्रा व्यवहारले पनि असर पारिरहेको छ । उनीहरुलाई खानका लागि आवश्यक पर्ने वस्तु फेला नपरेपछि बस्तीमा आउनु स्वभाविक हो । त्यसैले वन क्षेत्रमा पनि फलफूलका बिरुवा विस्तार गर्न जरुरी देखिएको छ । त्यसैले पनि हामीले खुला क्षेत्रमा बर र पिपल रोप्ने अभियान सञ्चालनमा गरेका हौँ ।”
कृषक उत्सुक
पछिल्लो समय स्थानीयवासी जडीबुटीका बिरुवा रोप्न उत्सुक भएका छन् । वन कार्यालय तथा सामुदायिक वनका पदाधिकारीले यस्ता बोटबिरुवाको महत्वबारे जानकारी दिनका साथै कृषकलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएकाले उनीहरूमा बिरुवा रोपनमा मोह बढेको हो ।
विभिन्न कृषक लक्षित कार्यक्रमले यहाँ जडीबुटीमा लाग्ने कृषकको सङ्ख्या बढेको छ । कार्यालयले विभिन्न कार्यक्रममार्फत आर्थिक तथा प्राविधिक सहयोग गरेकाले कृषकले जडीबुटी खेतीलाई व्यावसायिकरूपमा सञ्चालनमा ल्याएका हुन् । यस वर्ष मात्रै टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा, आमचोक गाउँपालिकालगायत ठाउँमा जडीबुटी विस्तार कार्यक्रम सञ्चालन गरिएको थियो ।
कृषकलाई आयआर्जनमा जोड्न, टिमुर, लालीगुँरास, तेजपत्ता, लोठ सल्ला, पयँुलगायत बिरुवा विस्तारमा प्रोत्साहन गर्नाका साथै जिल्लाका छवटा नर्सरीबाट एक लाख ६४ हजार बिरुवा उत्पादन गरिएको कार्यालयको भनाइ थियो ।
करिब पाँच हजार कागती, एभोकाडोलगायत बिरुवा कृषकलाई वितरण गरिएको कार्यालयले जनाएको छ । वर्षेनी बिरुवा वितरण गरिए पनि त्यसको उपलब्धि आउन नसकेको गुनासो गर्दै सरोकारकार व्यक्तिले कृषकले उत्पादन गरेका जडीबुटीको बजारीकरणका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सतुवा, चिराइतो, टिमुरलगायत विभिन्न जडीबुटीको पकेट क्षेत्र निर्धारण गरेर काम भइरहेको र कृषकलाई थप प्रोत्साहन गर्न लाहाखेती विस्तारका लागिसमेत काम भइरहेको कार्यालयले जनाएको छ । त्यस्तै जडीबुटी खेती विस्तार तथा वन क्षेत्रको विकासका लागि पञ्चवर्षीय योजना तयार भइरहेकाले त्यसमा छुटेका विषयवस्तुका बारेमा राय सुझाव सङ्कलन लिइएको बताइएको छ ।