दशैंका बेला आहार परिवर्तन गरौं, उत्तम जीवन बाँचौं–सम्पादकीय

२०७८ आश्विन २२ गते प्रकाशित

दशैं नजिकिएको छ । खसी बजारमा खसी किन्नेहरूको भीड छ, विभिन्न देवी दुर्गा मन्दिर, शक्तिपीठ तथा कोतहरुमा बली दिन सुरु गरिएको छ । दशैंमा नखाई नहुने खाद्यपदार्थको रूपमा मासुलाई लिने आफ्नो घरमा खसी च्याङ्ग्ग्रा ढाल्नै पर्ने चाइनाको च्याङ्ग्राको मोल ५० हजार नाघ्यो भनेर चिन्ता गरेर नेपालको मौलिक पर्व दशैंलाई खल्लो ठान्नेहरुको जमात उस्तै छ । लोकल खसीबोका बोइलर कुखुराको खोजी गर्नेहरु पनि उत्तिकै छन् तर मासु खानु हुँदैन । यसको विकल्प खोज्नुपर्छ । यसले हामीलाई फाइदा गर्दैन, पनिर कुराउनी, दही, दुध, हरियो सागपात फलफूल आदिले पनि मासुमा पाइने तत्त्व उपलब्ध हुन्छ ।

मासु मान्छेहरूको लागि खाद्य पदार्थ होइन भनेर बुझ्नेहरु नगण्य देखिन्छन् । जति खान नपाएर मर्छन् त्यस भन्दा दोब्बर संख्यामा खान नजानेर वा अति खानाले मर्दछन् । के खाद्य के अखाद्य छुट्याउन नसक्दा मानिस विभिन्न रोगको शिकार हुँदै अन्ततः धर्तीमा छोटो समयको पाहुना भएको उदाहरण यत्रतत्र सर्वत्र देख्न सकिन्छ । अहिले विशेष गरी मानिसले मांसाहारलाई बढी महत्व दिएको देखिन्छ ।

मानिस स्वभावैले मांसाहारी प्राणी होइन उसको दाँत,आन्द्राको लम्बाइ, पाचनशक्ति, शारीरिक संरचना अङ्गको प्रकृति हेर्दा पनि मानिस वास्तवमा शाकाहारी प्राणी हो । धर्मशास्त्र मात्र हैन ठूला(ठूला डाक्टर स्वास्थ्यविद्ले समेत यही भन्छन् कि मासु सेवन गर्नु मानिसको लागि फाइदाजनक छैन । जङ्गली युगमा खाद्यान्नको अभावमा चराचुरुङ्गी पशुपन्छी शिकार गर्दै र खाँदै मासुप्रति आकृष्ट हुँदै आएको मानिसले धर्मसंस्कृतिको रङ दिएर कुलपूजा सिमे भूमे पूजा नाग पुजा लगायत विभिन्न देवी देवताका नाममा ठूलाठुला रुख ढुङ्गाहरु रङ्ग्याउने कोट मन्दिरहरु रगताम्मे बनाउने काम गर्दै तथाकथित प्रसादस्वरुप मासु सेवन गर्दै आएको पाइन्छ यो वा त्यो बहानामा मासु खाँदै जाँदा अब त मानिस शाकाहारी कम र मांसाहारी बढी देखिन पो थालेको छ ।

वैज्ञानिक धर्मशास्त्री, पशु अधिकारवादी ज-जसले जे–जे तर्क दिएर मांसाहार,प्राणीहत्या,स्वास्थ्यह्रासको सम्भावना दर्शाए पनि मानिसले ज्यान जाला मासु छाड्न सक्दैन । अहिले विश्वमा देखिएको जलवायु परिवर्तनको कारण मानिसको आहार रहनसहन र उसको जीवनशैलीलाई प्रमुख मानिएको छ । मांसाहार त्याग्दा बित्तिकै ८०५ ग्लोबल वार्मिङ रोकिने कुरामा वैज्ञानिकहरुले जोड दिंदै आएका छन् । अतः पृथ्वी आफू बाँच्न र सबैलाई बचाउन पनि मानिसले आहार परिवर्तन गर्न जरुरी देखिन्छ ।

हरेक डाक्टरले रोगीलाई जाँच्ने क्रममा सोध्छन् मासु कत्तिको खानुहुन्छ? यदि खानुहुन्छ भने छोड्नुहोस् । हरेक रोगका लागि मासु वर्जित छ । धर्मशास्त्रहरुले त प्राणीहरूको हत्यालाई निषेध नै गरेका छन् । आफूले माया पाउन अरु प्राणीलाई पनि दया गर्नुपर्ने आफ्नो शरीरलाई जनावर वा प्राणीको चिहान बनाउन नहुने कुरामा जोड दिएको पाइन्छ । वैज्ञानिकहरुले ५१ प्रतिशत ग्लोबल वार्मिङको कारण मांसाहार तथा पशु उत्पादन नै हो भनेका छन् ।

जलवायु परिवर्तनजन्य सङ्कट समाधानको उत्तम उपाय भनेको शाकाहारी बन्नु नै हो । पृथ्वी बचाउने हो भने सबैभन्दा पहिले आहार परिवर्तन गर्ने कुरामा जोड दिनुपर्दछ । मांसाहारको केही सीमित फाइदाका बाबजुद असीमित बेफाइदा रहेका छन् । रक्तचाप सन्तुलन राख्न, विभिन्न साध्य असाध्य रोगबाट उन्मुक्ति पाउन सरदर १५ वर्ष आयु लम्बाउन, स्मरणशक्ति बढाउन, पानी बचत र शुद्धता कायम गर्न, प्रतिरोधात्मक क्षमता बढाउन पनि मांसाहार त्याग्ने र शाकाहारी बन्नुपर्ने कुरामा जोड दिएको पाइन्छ ।

जस्तो खाना त्यस्तो शरीर, जस्तो शरीर त्यस्तै बुद्धि जस्तो बुद्धि त्यस्तै हाम्रो व्यवहार हुने भएकाले पनि व्यावहारिक शुद्धता, स्वस्थता, स्वच्छताका लागि पनि मांसाहारी बन्न जरुरी देखिन्छ । जङ्गल विनाश विभिन्न खाले प्रदूषण घटाउन हरियाली बढाई पृथ्वीमा हुने हरित ग्याँसको उत्सर्जन कम गर्न र सारा प्राणी एवं वनस्पति हुँदै सारा ब्रह्माण्डलाई बचाउन पनि हामीले आफ्नो आहार परिवर्तनमा ध्यान दिनुपर्ने देखिन्छ । विश्वका प्रसिद्ध दार्शनिक, लेखक, कलाकार , अधिकारकर्मी , कवि राजनीतिज्ञ, सङ्गीतकार, खेलाडीहरुसमेत शाकाहारी रहेको देखिन्छ ।

सकेसम्म मासु नखाऔं, नसकेमा थोरै खाँदै क्रमशः कम गरेर अन्ततः पूरै शाकाहारी बनौं । आर्थिक, धार्मिक तथा विभिन्न दृष्टिकोणले शाकाहारी जीवन उत्तम जीवन भएको र जीवन परिवर्तन गर्न हृदय परिवर्तन गर्नुपर्ने, करुणा दयामायाको भावना विकास गर्नुपर्ने र वैकल्पिक जीवनशैली अपनाउनुपर्ने देखिन्छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानप्रदत्त आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्न …