कृषि तथा पशुपन्छी विकास मन्त्रीमा महिन्द्र राय यादव नियुक्त, को हुन उनी ?

२०७८ आश्विन २२ गते प्रकाशित

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का सांसद महिन्द्र राय यादव नियुक्त भएका छन् । गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेससहित अन्य तीन दललाई मिलाएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

यादवले सर्लाही–२ बाट प्रतिनिधी सभामा प्रतिनिधित्व गर्छन् । पिछडिएको समुदाय र अल्पसंख्यकको अधिकारका लागि लडिरहने नेताका रुपमा आफूलाई चिनाउन रुचाउने महेन्द्रराय यादव २०३७ सालदेखि नेपाली राजनीतिमा सक्रिय छन् । वामपन्थी दलबाट राजनीतिक यात्रा शुरु गरेका यादव नेकपा एमाले हुँदै मधेस राजनीतिमा सक्रिय भएका थिए ।

२०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी २०५१ को मध्यावधि निर्वाचन, २०५६ सालको आम निर्वाचन, २०६४ को पहिलो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीबाट निर्वाचित भएका थिए ।

२०६२-०६३ को जनआन्दोलनपछि एमाले परित्याग गरी मधेश केन्द्रीत आन्दोलनमा लागेका उनी तीन पटक मन्त्री र एक पटक राज्यमन्त्री भइसकेका छन् । २०५४ सालमा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, ०६७ मा उद्योगमन्त्री र पछि सामान्य प्रशासन मन्त्री भएका थिए ।

जनता समाजबादी पार्टीका प्रतिनिधी सभा सदस्य समेत रहेको यादवले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम विरुद्ध आवाज उठाएका थिए ।

उनी अध्यक्ष राजेन्द्र महतो र महन्थ ठाकुरको साथ छाडेर उपेन्द्र यादवलाई साथ दिएका थिए । देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्न उनले हस्ताक्षर समेत गरेका थिए ।