प्रतिकुल मौसममा पनि बिरुवालाई अनुकुल वातावरण सिर्जना गरी बेमौसमी तरकारी उत्पादन गर्ने प्लाष्टिकको घरको प्रयोग गर्ने गरिन्छ । नेपालमा वर्षायाम(जेठदेखि भदौ महिना) सम्म वर्षबाट जोगाउन र हिउँदयाम(मंसिरदेखि फागुनसम्म) चिसोबाट बिरुवालाई जोगाउन तराइ तथा मध्य पहाडी भागमा प्लाष्टिक घरको प्रयोग गरिँदै आएको छ भने उच्च हिमाली भागमा तापक्रम वृद्धि गरी गोलभेँडा, काक्रा जस्ता बढी तापक्रम चाहिने तरकारीको उत्पादनका लागि प्लाष्टिक गुमोज प्रयोग गरिँदै आएको छ । हाल नेपालमा निम्न ६ प्रकारका प्लाष्टिक संरचनाहरु प्रचलनमा छन ः
१. बासँबाट निर्मित प्लाष्टिक घर(मध्य पहाडी क्षेत्रका लागि सिफारीस कम लागतमा निर्माण गर्न सकिने तथा खुल्ला खेतबारीमा कम्तीमा २ देखि ३ वर्षसम्म तरकारी खेती गरेका किसानले वर्षायाममा तरकारीलाई पानीबाट जोगाइ उत्पादन लिन ५ देखि ६ मिटर चौडाइ तथा १२ देखि २५ मिटरसम्म लम्बाइ भएका सिल्पाउलिन/यु.भी १०० देखि २०० माइक्रोन प्लाष्टिक प्रयोग गरी निर्माण गरिएका प्लाष्टिक घर)
२. जि. आइ पाइपको टनेल(कम्तीमा १० देखि १५ वर्षसम्म स्थायी प्रकारका जी. आइको फ्रेमबाट निर्मित भेन्टिलेसनसहितको कीरा नछिर्ने जालीले घेरिएको तथा सिल्पाउलिन तथा मुभि प्लाष्टिकको प्रयोग गरिएका ५ देखि ६ मिटर सम्म चौडाइ तथा १२ देखी १५ मिटरसम्म लम्बाइ भएको । मध्य पहाडी क्षेत्रमा उपयुक्त)
३. नेट हाउस (तापक्रम अत्यधिक भएका तराई क्षेत्रमा भाद्रदेखि जेठसम्म बेमौसमी तरकारी उत्पादन गर्न किरा नछिर्ने जाली, ५० देखि ८० प्रतिशत सम्मका अल्मुनियम नेट तथा जी.आई पाइप प्रयोग गरी स्थान अनुसार सानो साना देखि ठूला सम्म आकार भएका तरकारी खेतीको लागि प्रयोग गरिएका जालीघरहरु)
४. नेचुरल्ली भेन्टिलेटेड प्लाष्टिक घर (मध्य पहाड तथा तापक्रम ४० प्रतिशत डीग्री भन्दा बढी नजाने तराइका क्षेत्रमा व्यावसायिक रुपमा वेमौसमी तरकारी उत्पादन गर्न यु.भी १०० देखि २०० माइक्रोसम्मको प्लाष्टिक, वरिपरी किरा नछिर्ने जाली तथा जाडोमा तापक्रम बढाउन प्लाष्टिक कर्टेन समेत भएका कम्तीमा ५ मीटर चौडाइ भएका एउटा मात्र वा गटर राखेर धेरै क्षेत्र समेत ओगट्न सक्ने खालका दुइवटा ढोका तथा थोपा लगायतका सिँचाइ सुविधा भएका जि, आइ वाट निर्मित प्लाष्टिक घर)
५. डोम आकारका प्लाष्टिक घर (मध्यपहाडको १६०० मीटर भन्दा अग्ला वा उच्च पहाडका कम हिउँ पर्ने क्षेत्रमा बेमौसमी तरकारी वा फलफूल विरुवा उत्पादन गर्न अर्ध चन्द्राकार आकारका यु.भि. प्लाष्टिक÷ पोलिकार्बोनेट सिट तथा जि. आइ पाइपको प्रयोग गरि निर्माण गरिएका प्लाष्टिक घर)
६. उच्च प्रविधि प्लाष्टिक घर (तरकारी वेर्ना, फल वा फूल वेर्नाको बाह्रै महिना उत्पादन गर्न विद्युत तथा बाटोघाटोको सुविधा भएका तथा विरुवा र वेर्नाको अत्याधिक माग भएका क्षेत्रमा तताउने, चिस्याउने तथा सिचाइ सुविधासहित भएको पोलिकार्बोनेटर यु.भि प्लाष्टिक आदिको प्रयोग भएको जि.आइ वाट निर्मित संरचना जसको लागत अन्य संरचनाभन्दा अधिक हुने) ।
प्लाष्टिक घर निर्माणको लागि जग्गा छनौटः
– कम्तिमा ६ घण्टाभन्दा बढी दैनिक घाम लाग्ने, हावा खेल्ने तर हुरी बतास नचल्ने क्षेत्र
– कम्तिमा पनि ५ मिटरभन्दा बढी चौडाई भएको जमिन
– सिचाइ, सडक विधुत जस्ता पूर्वाधारको ब्यवस्था भएको
– बेर्ना तथा विरुवाको लागि पर्याप्त भाग भएको तथा उत्पादित उपजको बजार भएको क्षेत्र
प्लाष्टिकको प्रयोग
नेपालमा प्लाष्टिक घरको लागि सामान्यता सुर्यको पराबैजनी किरणले असर नगर्ने सिल्पाउलिन प्लाष्टिकको प्रयोग गरिँदै आएको छ । तर, इजरायल, भारत लगायतका व्यवसायिक तरकारी खेती गर्ने देशमा सुर्यको प्रकाश प्रशस्त छिर्ने विकास भएका यु.भी १०० देखि २०० माइक्रोनका प्लाष्टिकहरुको नेपालमा प्रचलन बढी रहेको छ ।
नेपालमा सामान्यतया ४५ देखि ९० जि. एस. एम सम्मको पारदर्शि सिल्पाउलिन प्लष्टिक प्रयोग गर्ने गरिएको छ भने असिना पर्ने ठाउँमा १२० जि. एस.एम सम्मको प्लाष्टिकको प्रयोग गर्ने गरिएको छ । जति बढी जि. एस. एम को प्लाष्टिकको प्रयोग गरियो त्यति कम सूर्यको प्रकाश बिरुवाले पाई उत्पादन घट्ने सम्भावना हुन्छ । तसर्थ यदि हावाहुरी र असिनाको प्रकोप कम छ भने ४५ जि.एस.एम को प्लाष्टिक वा १००–२०० माइक्रोनको युभि प्रयोग गर्नु । हिमाली क्षेत्र जहाँ हिउँदयाममा हिउँ पर्दछन त्यस्ता क्षेत्रमा पोलिकार्बोनेट सिटको छानाको रुपमा प्रयोग गर्नु राम्रो हुन्छ । प्लाष्टिक घरमा हाल आएर चूनौतीको रुपमा देखा परेका सेता झिंगा, लाहीजस्ता र टुटा जस्ता चपाउने कीराको प्रकोप कम गर्न वरिपरी कीरा नछिर्ने जालीको प्रयोग गर्न अत्यावश्यक छ ।
प्लाष्टिक घरको निर्माण गर्दा ध्यान दिनु पर्ने कुराहरुः
– घरको निर्माण गर्दा समुन्द्री सतहबाट उचाई, तापक्रम, आद्रता, हावा वहावको दिशा तथा लगाउने जातमा विचार पुर्याउनु पर्दछ । साथै प्लाष्टिक घर बनाउँदा लगाउने विरुवाको लागि आबश्यक तापक्रम, आद्रता हावाको सञ्चार जस्ता कुरामा ध्यान दिन अत्यावश्यक छ ।
– समुन्द्री सतहबाट उचाइ कम भएको ठाउँ छ भने सामान्यतया तापक्रम बढी हुने हुँदा घर अग्लो साथै भेन्टिलेसन भएको बनाउनु पर्दछ । बढी उचाई भएको ठाउँमा तापक्रम कम हुने हुँदा तापक्रम बढाउन प्लाष्टिक घर होचो बनाउनु पर्दछ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र मालेपाटनले गरेको सिफारिस अनुसार यदि वाँसको प्लाष्टिक घर बनाउने हो भने ८०० देखि ११०० मिटर सम्मको समुन्द्री सतहवाटको उचाईमा धुरी खाँवाको उचाई ४ मी र छेउको खाँबा ३ मिटर, ११०० देखि १४०० सम्म धुरी खाँवा ३।५ र छेउको २।५ मी र १४०० देखि १९०० मी सम्म घुरी खाँबा ३ मी र छेउको खाँबा २ मी कायम गर्दा गोलभेंडा, काँक्रा लगायतका तरकारी सफलता पूर्वक बेमौसममा उत्पादन गर्न सकिन्छ ।
–बढी गर्मी हुने ठाउँहरुमा प्लाष्टिक घर निर्माण गर्दा हाबा ओहोर दोहर गर्ने ठाउँ भएको बनाउनु पर्दछ । यसो गर्दा तापक्रम र आद्रता नियन्त्रण गर्न सहज भइ रोग तथा किराको प्रकोपलाई न्युनीकरण गर्न सकिन्छ । अत्याधिक चिसो हुने क्षेत्रमा प्लाष्टिक घर निर्माण गर्दा तापक्रम बढाउन गुमोज आकारको निर्माण गर्नु पर्दछ ।
–तापक्रम र आद्रता नियन्त्रण गर्न प्लाष्टिक घरको आकारा धेरै ठूलो बनाउनु हुँदैन(ठाउँको उपलव्धताअनुसार ५ देखि ६ मिटर चौडाइ र १० देखी २५ मी. लम्बाई भएको घर उपयुक्त हुन्छ । यदि ठूलो घर बनाउन परेमा हावा सञ्चार गर्न पंखाहरुको व्यवस्था गर्न जरुरी हुन्छ । साथै नियमति रुपमा तापक्रम र आद्रताको अनुगमन गर्न जरुरी हुन्छ ।
–प्लाष्टिकको घर बनाउँदा छानाको उपयुक्त स्लोप मिलाउन आवश्यक हुन्छ अन्यथा प्लाष्टिकमा पानी र असिनाले क्षति पुर्याउने सम्भावना हुन्छ ।
तरकारी बालीको खेती गर्दा ध्यान दिनुपर्ने कुराः
१२ महिना एवं लगातार प्लाष्टिक घर भित्र एउटै तरकारी बालीको खेती गर्दा रोग तथा कीराको प्रकोप बढ़न जानुका साथै माटोको अवस्था पनि बिग्रन जाने हुदाँ एउटा तरकारी बाली लगाएपछि भटमास, बोडी लगायतको कोसेबाली बाली लगाइ फुल फुल्ने अवस्थामा पुगेपछि माटोमा जोतेर छोडिदिनु राम्रो हुन्छ । एकचोटि तरकारी लिइसकेपछि चैत्र देखी जेष्ठ महिनाको पानी नपर्ने तथा बढी गर्मी हुने सिजनमा प्लाष्टिक घरको प्लाष्टिक हटाएर फूल वा तोरी रोपी १–१.५ महिनाको भएपछि माटोमा मिलाइ पारदर्शी प्लाष्टिकले ३० देखी ४२ दिनसम्म हावा नछिर्ने गरी छोपेमा निमाटोड तथा अन्य माटोमा रहेका कीरा तथा रोगका जिवाणुलाई नियन्त्रण गर्न सहयोग गर्दछ । प्लाष्टिक घरमा तरकारी लगाउँदा बजारको माग तथा मुल्यको विचार गर्नुको साथै वाली विशेष तापक्रम तथा आद्रताको आवश्यकता परागसेचनको आवश्यकता र संरचनाको प्रकारलाइ ध्यानमा पुर्याइ सस्तोमा उत्पादन गर्न सकिने बाली रोज्न जरुरी हुन्छ ।
संरचना निर्माण लागत
हाल नेपालमा माथि उल्लेखित ६ प्रकारका संरचना निर्माण प्रति वर्ग मिटरको आधारमा विभिन्न निजी सेवा प्रदायक कम्पनीले गरिरहेका छन् । संरचना निर्माणमा स्थानिय आबहावाको विचार गरी विरुवा बृद्धि विकासका लागि आवश्यक तापक्रम, आद्रता तथा सूर्यको प्रकाश र हावाको सन्चार हुन सक्ने र सकभर कम खर्चमा निर्माण गर्न सकिने निर्माण गर्नुको साथै प्रति इकाई वढी उत्पादकत्व दिन सक्ने जात तथा प्रविधिको अबलम्बन (थोपा सिचाइ, प्लाष्टिक मल्च आदि) गर्न सक्ने गरी कृषकले ध्यान दिएमा कम लागतमा बढी प्रतिफल लिन सकिन्छ ।
संरचनाको लागतमा बाटोको सुविधा, सेवा प्रदायकवाटको दुरी, आवश्यक पर्ने संरचनाको किसिम तथा सुविधाहरु लगायतले प्रभाव पार्ने हुनाले आफुलाइ पायक पर्ने स्थानको कृषि प्रविधिकको सल्लाहको आधारमा प्रविधि छनौट गर्न आवश्यक हुन्छ ।
सम्झनुपर्ने कुराः प्लाष्टिक घर बेमौसमी तरकारी उत्पादनको पूर्वाधार हो । यदि बढी उत्पादन तथा आम्दानी लिने हो भने बाली अनुसार तापक्रम तथा आद्रताको व्यवस्थापन उपयुक्त तरकारीको जातको छनौट, सिफारिस बाली व्यवस्थापन प्रविधिको अवलम्वन तथा बजारको माग अनुसारको उत्पादन गर्न आवश्यक हुन्छ ।