काठमाडौं । सरकारले घोषणा गरेको कृषि तथा पशु बीमामा ८० प्रतिशत अनुदान कार्यक्रम लागू हुन सकेको छैन् । बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले कृषि तथा पशुबीमा गर्ने किसानलाई बीमा प्रिमियम शुल्क ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याएको बताए ।
तर, अहिलेसम्म पनि सरकारले घोषणा गरेको उक्त निर्णय कार्यान्वयन हुन नसकेको किसानहरुको गुनासो छ । बजेट घोषणापश्चात चालू आर्थिक वर्षको साउन १ गते देखि नै उक्त निर्णय लागू हुनुपर्ने हो ।
तर, कागजी रुपमा घोषित कार्यक्रम कार्यान्वयनमा देखिएको असमन्वयका कारण उक्त कार्यक्रम लागू हुन सकेको छैन् । अहिले पनि किसानहरुले कृषि तथा पशु बीमा गराउँदा साविककै ५० प्रतिशत अनुदान पाएका छन् । कार्यक्रम घोषणा गरिएको झन्डै तीन महिना बितिसक्यो । तर, कार्यक्रम कार्यान्वयन गर्ने निकाय बीमा कम्पनीले पहिलेकै निर्णयअनुसार बीमा गराइरहेको छन् ।
सरकारले घोषणा गरे पनि कार्यान्वयनका लागि आधिकारीक रुपमा पत्र नआइसकेको बीमा समितिका सुचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए । ‘बजेटमा आएको हो तर, त्यसबारेमा नीतिगत रुपमा कार्यान्वयनका लागि कुनै ‘लेटर’ आएको छैन’ उनले भने, ‘अर्थ मन्त्रालय हुँदै कृषि मन्त्रालयबाट निर्णय भएर आए पछि मात्रै हामीहरुले कार्यान्वयन गर्छौ ।’
यता, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने सरकारले निर्णय गरेको ८० प्रतिशत कृषि तथा बाली बीमा अनुदान कार्यान्वयनका लागि निर्देशन र परिपत्र गरिसकेको जनाएको छ । ‘यसअघि कृषि तथा पशुबीमा अनुदान ५० प्रतिशतबाट बढाएर सरकारले ८० प्रतिशतमा पुर्यायो । हामीले केही दिन अघि बैठक बसेर निर्णय कार्यान्वयन गर्न ‘सर्कुलर’ गरिसकेका छौं ।’ कृषि विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले कृषिपानालाई जानकारी दिए ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारले कृषि तथा पशु बीमा अनुदान ७५ प्रतिशतबाट ५० प्रतिशतमा झारेको थियो । सरकारको सो निर्णयलाई लिएर किसानहरुको चर्को विरोध भएको थियो ।
पछि, प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा आए पछि बनेको अर्थमन्त्री जनार्दन शर्माले कृषि तथा पशुबीमा अनुदान ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याएका थिए । त्यसअघि कृषि तथा पशुबीमा अनुदान ७५ प्रतिशत कायमै हुँदै आएको थियो ।
कृषि उत्पादन गरिरहँदा भैपरी आउने सम्भावित जोखिमलाई न्यूनीकरण गर्दै किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने उद्धेश्यले सरकारले कृषि तथा पशु बीमामा अनुदान दिने नीति ल्याएको हो । हालको अवस्थामा कृषि तथा पशु बीमाप्रति किसानको आकर्षण ज्यादै न्यून छ । त्यसमा पनि कृषि तथा बाली बीमामा निकै नै न्यून छ । यद्यपी, पशु, मत्स्यपालनतर्फ भने केही सन्तोषजक छ ।
कृषि तथा बाली बीमा कुल किसानमध्ये ३ प्रतिशत किसानको कभरेज छ, भने पशु तथा मत्स्यतर्फ भने १० प्रतिशत हाराहारीमा किसानको पहुँच पुगेको कृषि मन्त्रालय स्रोतको तथ्यांक छ ।
दुर्गमका किसानतहसम्म बीमा कम्पनी नपुग्ने, स–सानो परिमाणमा बीमा गर्न झन्झट मान्ने र किसानहरुमा पनि बीमा गर्नुपर्छ भने जनचेतना नपुग्दा कृषि तथा पशु बीमा तर्फ किसानको आकर्षण बढ्न सकेको छैन् ।