तातोपानी नाकाबाट कपडा र स्याउका कन्टेनर आए, मल आएन

२०७८ आश्विन २६ गते प्रकाशित

काठमाडौं । देशभर रासायनिक मलको अभाव भइरहेको बेला नेपाल–चीन सीमा नाका तातोपानीमा दश हजार मेट्रिक टन मल ढुवानीमा समस्या देखिएको छ । करिब दुई हप्तादेखि नाकामा मल अड्किदा नेपालमा भने मलको झनै हाहाकार हुने भएको हो ।
दशैं सुरु भएसँगै कपडा र स्याउलगायतका कन्टेनरहरु नेपाल भित्रिए पनि मलका कन्टेनरहरु भने आउन सकेका छैनन् । सरकारले उत्तरी छिमेकी चीनसँग मल ढुवानीमा सहजीकरण गर्ने सहमति जनाए पनि मल नाकामै रोकिएको छ ।
दशैंका कपडा, स्याउलगायतका मालसामानलाई केही ढुवानीमा सहज पारिए पनि मल भने आउन नदिइएको जनाइएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद भट्टराइले तातोपानी नाकामा मल रोकिँदा मलको अभाव हुन सम्भावना बढेको बताए ।
‘तातोपानी नाकामा मल अड्किएको दुई हप्ता भयो, दिनमा २० ओटा कन्टेनर छाडिन्छ, त्यसमा दशैंका सामान ढुवानी गर्ने कन्टेनर नै आइरहेका छन’ उनले भने, ‘मल आउन सकेको छैन ।’
मल ढुवानीका लागि चीनियाँ सरकारसँग कुटनीतिक पहल गरिरहेको उनले बताए । तर, भारतबाट खरिदको मल आइरहेकाले अभाव भइहाल्ने अवस्था नहरेको बताए ।
‘कलकत्ताबाट मल आइरहेको छ र, आउँदै पनि छ । तातोपानी नाकाबाट ल्याउन सकिरहेका छैनौं ।’ उनले भने । यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार भट्टराइले चीनियाँ पक्षसँग रासायनिक मलको ढुवानी सहजीकरणका लागि पहल भइरहेको बताएका थिए ।
रासायनिक मललाई छुट्टै कोटा प्रणाली बनाएर उत्तरी नाकाबाट सहज रुपले ढुवानी दिन चीन सहमत भएको उनले बताएका थिए ।