उखुको समर्थन मूल्य तोक्ने तयारी, गत आवको भन्दा केही बढ्ने

२०७८ आश्विन ३० गते प्रकाशित

काठमाडौं । सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोक्ने प्रक्रिया अघि बढाएको छ । यस वर्षको उखुको समर्थन मूल्य तोक्नका लागि सरकारी कर्मचारीहरु उखु उत्पादन हुने तराईका ८ अोटा जिल्लाको फिल्ड भिजिट गरिसकेका छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तरगत कृषि विभागको टोलीले मूल्य तोक्नका लागि अावश्यक प्रक्रिया अघि बढाएको हो । अबको दुई हप्ताभित्र उखुको समर्थन मूल्य निर्धारण हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार, कृषि विभागबाट उखुको मूल्य निर्धारणसम्वन्धि विवरण आउनासाथ सार्वजनिक गरिनेछ । पछिल्लो पटक बढेको मूल्य,ढुवानी, उत्पादन लागत, किसानको ऋणमा ब्याजलगायतका खर्चका आधारमा उखुको न्युनतम समर्थन मूल्य तोक्ने गर्छ ।

गत आर्थिक वर्षमा सरकारले उखुको न्युनतम समर्थन मूल्य प्रतिक्वीन्टल ५४४ रुपैयाँ तोकेको थियोे । जसमा उखु बिक्रीबापत किसानले सरकारबाट प्रतिक्वीन्टल ६५ रुपैयाँ अनुदान पाएका थिए । बाँकी रकम उखु खरिद गर्ने चिनि मिलले किसानलाई भुक्तानी गर्नुपर्छ ।

यस वर्ष भने अघिल्लो आवको तुलनामा उखुको समर्थन मूल्य केही बढ्ने मन्त्रालयले जनाएको छ ।