यति बेला मुलुकका सबैजसो भागमा धान पाकेको छ भने किसानलाई घर भित्र्याउने चटारो सुरु भएको छ । तर यही बेला हुन थालेको वर्षाका कारण कतै तयारी अवस्थाको धानबाली बिग्रिने त होइन भन्ने चिन्ताले किसानलाई सताउन थालेको छ ।
दसैं मनाएर फुर्सत मिलेपछि किसान धान काट्न खेतखेतमा पुगेका छन् भने काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा बितेको रातदेखि हल्का वर्षा भइरहेको छ । नेपाल कतिपय पहाडी तथा तराईका भूभागमा असोज अन्तिम सातादेखि नै धान काट्न थालिएको छ । मौसम सफा रहे अबको दुई साताभित्र अधिकांश भूभागमा धान काट्ने काम सकिन्छ ।
भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास विकसित न्यून चापिय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावको कारण गए रातिदेखि नै नेपालको मौसम बदली भएको हो । गए रातिदेखि बागमती प्रदेश, प्रदेश १, २ र लुम्बिनी प्रदेशका कतिपय ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षासँगै कतिपय स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीकोसमेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार यो क्रम अबको दुईतीन दिनसम्म निरन्तर जारी रहने छ ।
बिहानदेखि परिरहेको पानी केही बेर रोकिए पनि दिउँसो फेरि पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् । उनका अनुसार भोलि देशैभर पानी पर्ने अनुमान छ । सुदूरपश्चिम प्रदेशमा भोलि ठूलो वर्षाको सम्भावना छ ।
यस्तै, उच्च पहाडी तथा हिमाली भूभागमा पनि वर्षासहित हिमपातको सम्भावना छ । आज भन्दा भोलि हिमाली जिल्लामा हिमपातको सम्भावना धेरै रहेको मौसमविद् नगरकोटीको भनाइ छ ।
धेरै स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने भएकाले खेतबारीमा काम गर्दा र यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । साथै, दशैँका लागि गाउँ घर गएकाहरु पनि काठमाण्डौ उपत्यका फर्किदै छन् । यात्रा गर्दा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न पनि महाशाखाको सुझाव छ ।