बेमौसमी वर्षाको पीडा: देशभर १८ जनाको मृत्यु, भित्रिने बेलाको धानबालीमा ठूलो क्षति

२०७८ कार्तिक ३ गते प्रकाशित

काठमाडौँ । मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ । विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन् । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार डोटीमा सात, धनकुटामा पाँच, सुनसरीको धरानमा दुई, कालीकोटमा एक र डडेलधुरामा एक जनाको मृत्यु पुष्टि भएको छ ।

नेपालमा गत असोज ३१ देखि पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिलेसम्म सुदूरपश्चिमलाई नराम्ररी प्रभावित बनाएको छ । प्रहरी प्रधान कार्यालयले बिहान दिएको विवरणअनुसार इलामको फाकफोकथुम गाउँपालिका–१ ठेङ्गेपुरमा नगबहादुर शेर्माको घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जिल्लाको चौबीसे गाउँपालिका–१ छनम बुधबारेमा गए राति पहिराले भीमबहादुर श्रेष्ठको घर भत्काउँदा छ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार पहिरोमा परेका १२ मध्ये छजनाको उद्धार गरिएको छ । महाशाखाका प्रमुख पाण्डेले पहिरोमा परेर हुम्लामा छ बझाङमा २३ सम्पर्कविहीन रहेका जानकारी आएको बताउनुभयो । यस्तै कैलालीमा पनि चार बेपत्ता भएका छन् ।

भावित भएको उनले जानकारी दिए । अन्य विभिन्न जिल्लामा ठूलो भौतिक क्षति भए पनि यकिन विवरण आइसकेको छैन । अहिले उद्धार कार्यमा मुलुककै ध्यान केन्द्रित भएको र बेपत्ताको खोजीका लागि तीनवटै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा समुदाय सक्रिय रहेको महाशाखा प्रमुख पाण्डेले जानकारी दिए । जिल्लामा फसेका नौको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थलमार्गबाट समेत उद्धार कार्य जारी रहेको र अहिलेसम्म कञ्चनपुरलगायत जिल्लाबाट ७०० लाई उद्धार गरी सुरक्षित ठाउँमा पु¥याइएको गृहमन्त्रालयले जनाएको छ । प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । त्यसमध्य १५ जिल्लाका अधिकांश राजमार्ग तथा धेरै ठाउँमा विद्युत् र फोन सेवासमेत अवरुद्ध भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

उनले उद्धार, राहत तथा अस्थायी बसोबासको व्यवस्थापन कार्य पनि सँगसँगै भइरहेको जानकारी दिए । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रभावित क्षेत्रमा रातिमा समेत खटिएर प्रहरीले उद्धार कर्यालाई तीव्रता दिइरहेको र यो क्रम जारी रहेको जानकारी दिए । अहिलेको वर्षाले किसानको भित्रिन लागेको धानबालीलाई समेत नराम्ररी प्रभावित बनाएको छ । आज भने वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कणाली र सुदूरपश्चिममा केही सुधार भएको छ ।

नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ । जसका कारण अहिले हाल देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाकी प्रदेशका एक–दई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।