दुई महिनामै सुनका गहनाको निर्यात बढ्यो

२०७८ कार्तिक ५ गते प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामै सुनका गहनाको निर्यात बढेको छ । सरकारले वैदेशिक व्यापारका लागि आवश्यक एचएस कोड उपलब्ध गराएपछि नेपालबाट सुनका गहना निर्यात बढेको हो ।

चालु आर्थिक वर्षको साउन र भदौ महिनामा १३ करोड ५७ लाख ५९ हजार रुपैयाँ बराबरको गरगहना निर्यात भएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांक छ । साउन महिनामा १० करोड २८ लाख ३४ हजार रुपैयाँको गहना निर्यात भएकोमा भदौ महिनामा ३ करोड २९ लाख २५ हजारको निर्यात भएको केन्द्रको तथ्यांक छ । सुनका गहनाका निर्यात गर्नका लागि अलग्गै एचएस कोड थिएन ।

जसकारण व्यवसायीले ह्यान्डक्यारीमार्फत गहना निर्यात गर्दै आएका थिए । गत वर्षदेखि भन्सार विभागले एचएस कोड उपलब्ध गराएपछि निर्यात बढ्दै गएको केन्द्रको तथ्यांक छ ।

आर्थिक वर्ष २०७७र०७८ मा ३८ करोड ७१ लाख ७६ हजार रुपैयाँ बराबरका गरगहना निर्यात भएका थिए । चालु आर्थिक वर्षको दुई महिनामै १३ करोडको निर्यात भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले भन्सार विभागले एचएस कोड उपलब्ध गराएसँगै सुनको निर्यातमा उलेख्य वृद्धि भएको जानकारी दिए । “पहिला ह्यान्डक्यारीमा मात्र गहना निर्यात हुँदा कम हुने गरेको थियो,” उनले भने, “सुन निर्यात गर्नका लागि एचएस कोड उपलब्ध गराएपछि निर्यात ह्वात्तै बढेको हो । विश्वका विभिन्न मुलुकमा नेपालीहरु बस्न थालेपछि नेपाली गरगहनाको माग पनि बढी हुने गर्छ ।”

विभागका अनुसार मुलुकबाट अमेरिका, अस्ट्रेलिया र हङकङ लगायतका देशमा सुनका गहना निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा ज्वेलरीको माग बढ्दै गएकाले निर्यातमा वृद्धि भएको व्यवसायीको भनाइ छ । विदेशबाट ढिका सुन आयात गरेर विभिन्न डिजाइनका गहना बनाएर व्यवसायीले मुलुकमा निर्यात गर्दै आएका छन् ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षदेखि सुनका गहना निर्यात हुन थालेको हो । यसअघि गहना निर्यात भएपनि एचएस कोड नहुँदा तथ्यांक यकिन गर्न कठिन हुने व्यवसायीको भनाइ छ ।

यसैबीच, मुलुकबाट चाँदीका विभिन्न डिजाइनका मूर्ति लगायतका अन्य सामान समेत निर्यात हुने गर्छ । हस्तकलाका सामानका रुपमा चाँदीका सामान निर्यात हुने गर्छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीका गहनाको माग बढ्दै गएको व्यवसायीको भनाइ छ । आजको कारोबार दैनिकबाट