बेमौसमी बर्षाले मुलुकभर झन्डै साढे ८ अर्बको धानबालीमा क्षति, किसानले क्षतिपूर्ति पाउँलान ?

२०७८ कार्तिक ८ गते प्रकाशित

काठमाडौं । गत कात्तिक १, २ र ३ गतेको अविरल बेमौसमी बर्षाका कारण देशका सातवटै प्रदेशमा गरी करिब साढे ८ अर्बको धानबालीमा क्षति पुर्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको सातै प्रदेशको क्षतिको विवरणअनुसार ८ अर्ब २१ करोड बराबरको धानबाली तथा अन्य बालीमा क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रकाश सन्जेलले प्रदेशबाट प्राप्त विवरणअनुसार हालसम्म ८ अर्ब २१ करोड बराबरको धानबाली वा अन्य बालीनालीमा बेमौसमी बर्षाले क्षति पुर्याएको बताए । मन्त्रालयबाट प्राप्त क्षतिको विवरणअनुसार, लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धानबालीमा क्षति पुगेको छ । बर्दिया, कपिलवस्तु, बाँके र रुपेन्देही जिल्लामा बर्षाले बढी क्षति पुर्याएको छ ।

सो प्रदेशमा ४ अर्ब ४१ करोड बराबरको धानबालीमा क्षति पुगेको छ । त्यस्तै, सुदुरपश्चिम प्रदेशमा पनि बर्षाले ठूलो क्षति पुर्याएको छ । सो प्रदेशका कैलाली, कन्चपुरलगायत अन्य जिल्लामा गरी कुल १ अर्ब ९१ करोड बराबरको धानबालीमा क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

त्यस्तै, प्रदेश नम्बर १ का झापा, सुनसरी, मोरङलगायतका जिल्लामा ८० करोड, प्रदेश नम्बर २ का सप्तरी, सिराहा र सर्लाहीलगायतका जिल्लामा ५६ करोड, गण्डकी प्रदेशका स्याङ्जा, गुल्मी, कास्की, नलवपरासीलगायतका जिल्लामा १३ करोड र कर्णाली प्रदेशका डोल्पा, जुम्ला, सल्यान, सुर्खेतलगायतका जिल्लामा ३० करोड रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । यता, बागमती प्रदेशका केही जिल्लामा बर्षाले किसानको धानबालीमा क्षति पुर्याए पनि क्षतिको पूर्ण विवरण आइ नसकेको मन्त्रालयले जनाएको छ ।

बेमौसमी बर्षाका कारण किसानलाई भित्र्याउने बेलाको धानबालीमा नराम्रोसँग क्षति पुर्याएको छ । पीडित किसानलाई क्षतिपूर्ति र राहत दिने बिषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत कात्तिक २ गते सातै प्रदेशका कृषिमन्त्री तथा सचिवसँग छलफल गरेको छ ।

मुलुकभरका किसानलाई धानबालीमा पुगेको क्षतिको यर्थाथ विवरण संकलन गरी राहत तथा क्षतिपूर्ति दिने निर्णय सरकारले गरे पनि राहत र क्षतिपूर्ति दिने गरी अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको छैन् ।

क्षतिको विवरण वा कुन आधारमा क्षतिपूर्ति वा राहत दिने भन्ने बिषय टुंगिन सकेको छैन् । अघिल्ला वर्षहरुमा पनि बाढी, पहिरो र डुवानका कारण धानबाली र अन्य नगदेबालीमा किसानले लाखौंको क्षति व्यहोर्दै आए । तर, सरकारले झारा टार्ने किसिमले तथ्यांक र विवरण संकलन गरे पनि किसानले राहत र क्षतिपूर्ति पाएनन् ।

अघिल्ला वर्षमा पनि किसानले ठूलो क्षति व्यहोरे पनि सरकारले झारा टार्ने हिसावले विवरण र तथ्यांक संकलन गर्ने गरे पनि किसानले क्षतिपूर्ति पाउन नसकेको राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष नवराज बस्नेत बताउँछन् । अहिले भएको किसानको क्षतिमा पनि सरकारले राहत देला भन्ने कुरा शंकाकै बिषय बनेको उनले बताए ।

‘विगतका दिनमा पनि यस्ता विपत्ती आउँदा सरकारले तथ्यांक संकलन गरेर क्षतिपूर्ति दिन्छु भन्यो तर, दिएन । त्यसकारणले अहिले पनि राहत दिन्छ भन्ने ठाउँ छैन्’ उनले भने, ‘विवरणकै हिसावले हेर्ने हो भने पनि ठूलो ठूलो भएको छ, यो पनि तथ्यांक हो कि मिथ्यांक हो भन्ने कुरामा हामीमा शंका गर्ने ठाउँ छन् ।’

साँच्चिकै फिल्डमै गएर किसानको क्षतिको विवरण संकलन गरेको भए किसानलाई राहत र क्षतिपूर्ति दिनै पर्ने उनको दाबी छ । महासंघले पनि बेमौसमी बर्षाका कारण किसानको क्षतिको राहत दिनुपर्ने मागसहित कृषिमन्त्री महिन्द्र राय यादवलाई ज्ञापनपत्र बुझाइए सकेको छ ।
अहिले पनि त्यहीँ नियति नदोहोरिएला भन्न सकिन्न् ।

तुलनात्मक हिसावले हेर्दा विगतका वर्षमा भन्दा बढी क्षति भएको विवरण देखाइएको छ । क्षतिको विवरण कति सही र व्यवहारिक छ, त्यसमा पुनः अनुगमन गरेर पीडित किसानलाई राहत दिनु पर्छ ।