बाढीले आहत कृषकलाई अविलम्ब राहत देऊ–सम्पादकीय

२०७८ कार्तिक ९ गते प्रकाशित

अरुलाई दशैं लाग्दा कृषकहरुलाई भने महादशा लाग्यो । असोज मसान्तदेखि अविरल परेको वर्षाले मुलुकको सुदूरपश्चिम, लुम्बिनी तथा प्रदेश दुईमा बढी असर देखियो । कृषकहरुले हजारौ हेक्टरमा लगाएको धान खेतीलाई ठूलो क्षति पुर्याएको छ । भित्र्याउने ठिक्क पारेको धान डुबेको छ, कतिपय बगाएको छ । अविरल वर्षा बाढी, डुबानको कारणले गर्दा ठूलो मात्रामा धान खेतीलाई असर पुगेको छ ।

कञ्चनपुर कैलाली, दाङ, तथा प्रदेश दुईका विभिन्न जिल्लाहरुमा लगाइएको धान बालीलाई अविरल वर्षा,बाढी तथा डुबानले असर पुर्याएको छ । काटेको धान डुबानमा परेको छ । देशको अन्य भूभागमा पनि नकाटेको धान ढलेको छ भर्खर फूल्न लागेको धानको फूललाई झारेकोले बाँकी रहेको धान पनि राम्रोसँग फल नलाग्ने देखिएको छ । कृषि क्षेत्रमा १६ प्रतिशत योगदान रहेको प्रमुख खाद्य धानबालीमा परेको ठूलो असरले भविष्यमा भोकमरी निम्तिने, मूल्य वृद्धि हुने तथा आयातमा बढी भर पर्नुपर्ने सम्भावना नआउला भन्न सकिन्न ।

ऋण धन गरेर बल्लबल्ल खेती लगाएर भित्र्याउने बेलामा एक्कासि आएको ठूलो विपत्तिले ॠण कसरी तिर्ने, परिवार कसरी पाल्ने भन्ने कुराको चिन्ता किसानलाई थपिएको छ । किसान पुर्पुरो समाउन बाध्य भएका छन । विभिन्न राजनीतिक दल तथा संघसंस्थाहरुले कृषकहरुलाई क्षतिपूर्ति दिन माग गरे पनि नेपाल सरकारले विपतमा परेका किसानलाई क्षति अनुसार राहत दिनुपर्ने कुराको तात्तातो निर्णय गरेर किसानलाई आश्वस्त दिलाउनुको सट्टा क्षतिबारे सङ्कलन गर्नको लागि दस दिनपछि बल्ल कार्यदल गठन गरेको छ ।

गाँस बास, कपाससमेत गुमाएका किसानलाई प्रदेश सरकारले दिने प्रतिव्यक्ति दुई लाख रूपियाँ हात्तीको मुखमा जिरा जस्तै बनेको छ । किसानहरुलाई मौसमसम्बन्धी सूचना दिने मौसम विज्ञान विभागको द्वैध भविष्यवाणीका कारण दुःख पाएकोमा धेरै रुष्ट रहेका छन । जल तथा मौसम विज्ञान विभाग नेपाल कृषि अनुसन्धान परिषद नार्क लगायतले मौसमसम्बन्धी भविष्यवाणी गर्दै आएको तर ८० प्रतिशतसम्म भविष्यवाणी मिल्ने गरेकोमा यसपटक किसानहरुले समयमा सही सूचना नपाएको कारणले पनि ठूलो क्षति व्यहोर्नु परेको देखिएको छ ।

किसानलाई जहिले पनि दुःखको दुखै छ । पहिले बाली लगाउनै दुःख त्यसका लागि बिउबिजन जुटाउने दुःख । बल्लतल्ल खेती लगायो फेरि प्राकृतिक विपत्ति र अन्य कुराहरुबाट जोगाउन दुख । दुख्खैदुख्खमा किसानका दिनहरु गुज्रिरहेका छन । कृषिप्रधान मुलुकमा कृषकको यतिमाथि बिचल्ली हुनु देशकै लागि दुर्भाग्य को कुरा हो । अब सरकारले धेरै ढिलाइ गर्नु हुँदैन । कुन क्षेत्रमा कहाँ के कति क्षति भएको छ त्यसको यकिन तथ्याङ्क सङ्कलन गर्नुपर्छ । धेरै मानिसहरु कृषि पेशाबाट पलायन हुनुको कारण पनि हो कृषि पेशालाई सरकारले धेरै संरक्षण गर्न नसक्नु, झोले कृषकहरु मौलाउदै जानु, वास्तविक किसानले राहत नपाउनु, बिउबिजन समयमा नपाउनु र बेमौसमी वर्षा अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो, भूक्षय, डुबानको कारणले कृषकको परिश्रम त्यत्तिकै खेर जाने जस्ता विभिन्न कारणहरूले गर्दा कृषकहरु कृषि पेशाबाट पलायन हुँदै गइरहेका छन ।

खर्बौ रुपियाँ गुम्ने स्थिति अहिले सिर्जना भएको छ । विगत १२ वर्ष यताकै बेमौसमी वर्षाको कारण मुलुकमा ठूलो धनजनको क्षति भएको छ । पुलपुलेसा, सडक नष्ट भएका छन । किसानको परिश्रम खेर जाँदा मुलुकमा धान चामल आयातको वृद्धिदर बढ्दै जाने देखिएको छ भने अर्कातिर बचेखुचेको अन्न पनि सुरक्षाको लागि चुनौती बन्ने देखिन्छ । साविकभन्दा पर्याप्त धान उत्पादन हुने अनुमानलाई फेल खुवाउँदै मुलुकमा सङ्कट पैदा भएको छ ।

वर्षाले के कति क्षति भएको छ, वास्तविक पीडित को हुन ? कार्यदलले त्यसको यथार्थ तथ्याङ्क सङ्कलन गर्नुपर्दछ, । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालसम्म सातवटै प्रदेशको क्षतिको प्रारम्भिक विवरणअनुसार, ८ अर्ब २१ करोडको धानबालीमा क्षति पुगेको अनुमान छ । उक्त क्षतिको तथ्यांक र विवरणलाई भेरिफाई गरेर वास्तविक पीडित किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्छ । यदाकदा क्षतिको विवरण ठूलो देखाएर गैर किसानलाई पोस्न खोजिएको भन्ने आरोप पनि लाग्दै आएको छ । त्यसैले कृषि ज्ञान केन्द्र, स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले पनि यसमा पर्याप्त चासो दिन आवश्यक छ । स्थानीय, प्रदेश र संघ सबै किसिमका सरकारहरु सक्रिय भई वास्तविक पीडित कृषकहरूलाई राहत प्रदान गर्नुपर्छ । नक्कली कृषकहरुले राहत लिने वास्तविक कृषकहरु छुट्ने अवस्था पनि आउन सक्छ, यसको लागि सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

अब आश्वासन हैन, साँच्चै नै क्षतिको विवरण सङ्कलन गरी पर्याप्त राहत दिनु आवश्यक छ । बेलैमा राहत प्याकेज ल्याई प्रदान गरेमा चिन्ताग्रस्त कृषकहरू केही आश्वस्त हुन सक्छन । आगामी दिनमा कृषकहरूको कृषि बिमा गर्ने, जलवायु परिवर्तनका कारणले हुने असरहरुलाई न्यून गर्न र नेपाली जनतालाई बचाउन अल्पकालीन, दीर्घकालीन रणनीति अपनाउन पहल गर्नुपर्ने देखिन्छ ।