एक हप्ताभित्र क्षतिको कृषकस्तरको विवरण संकलन, राहतका लागि बजेट प्रस्ताव गर्ने

२०७८ कार्तिक ९ गते प्रकाशित

काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा गत असोज ३१ गतेदेखिको अविरल वर्षाले किसानको धानबालीमा पुर्याएको क्षतिको कृषकस्तरको विवरण एक हप्ताभित्र संकलन गरिने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको संघ र प्रदेशस्तरीय समन्वयन बैठकले हालसम्म अद्यावधिक गरिएको क्षतिको विवरणका आधारमा एक हप्ताभित्र क्षतिको कृषकस्तरको विवरण संकलन गरी राहत तथा क्षतिपूर्ति दिने निर्णय भएको छ ।

बाढी पहिरोबाट पीडित किसानलाई राहत उपलव्ध गराउने सम्बन्धमा पूर्ण क्षति, आंशिक क्षति र सामान्य क्षति पुगेको क्षेत्रफलका आधारमा निश्चित मापदण्ड बनाइ प्रति इकाइ क्षेत्रफल निश्चित रकम राहत स्वरुप उपलव्ध गराउने निर्णय भएको छ ।

त्यस्तै, आगामी सिजनका लागि मल, बीउबीजन तथा सिँचाइ सामग्री निशुल्क उपलव्ध गराउने, किसानको वर्गीकरणका आधारमा ऋण तथा ब्याज मिनाहा÷छुटको व्यवस्थाका लागि पहल गर्ने निर्णय गरिएको छ ।

बैठकले क्षतिको कृषकस्तरको विवरण प्राप्त भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राहतका लागि आवश्यक बजेट अनुमान गरी बजेट व्यवस्थाका लागि प्रस्ताव पेश गर्ने निर्णय भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवसँगै सचिवहरुको उपस्थितिमा संघ र प्रदेशस्तरीय समन्वयन बैठक मंगलबार सम्पन्न भएको छ ।

बेमौसमी बर्षाका कारण मुलुकभर बाढी र पहिरो किसानको झन्डै साढे ८ अर्ब बढीको धानबालीमा क्षति पुगेको प्रारम्भिक विवरण छ ।