काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बेमौसमी वर्षाका कारणले मुलुकभर ८ अर्ब २६ करोडको धानबालीमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गर्यो । जुन, सातवटै प्रदेशबाट मन्त्रालयले संकलन गरेको थियो ।
सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ४ अर्ब ४१ करोड बराबरको धानबालीमा क्षति पुगेको प्रारम्भिक विवरण छ । त्यस्तै सुदुरपश्चिम प्रदेशका कैलाली र कन्चनपुरलगायतका जिल्लामा १ अर्ब ९१ करोड बराबरको क्षतिको विवरण सार्वजनिक गरियो । बैमोसमी बर्षाले किसानको भित्र्याउने बेलाको धानबालीमा क्षति पुगेको अवश्य छ । सार्वजनिक गरिएको क्षतिको विवरण हेर्दा किसानलाई ठूलो मर्का परेको छ ।
तर, कतिपयले भने क्षतिको तथ्यांक बढाई चढाई गरिएको र क्षतिको विवरण संकलन के कसरी गरियो भनेर प्रश्न उठाउनका थालेका छन् । क्षतिको प्रारम्भिक विवरण आए पनि यसलाई वास्तविक तथ्यांक हो वा होइन् भने पत्याइरहेका छैनन् ।
क्षतिको विवरण हेर्दा तथ्यांक हो कि मिथ्यांक शंका गर्ने ठाउँ उव्जिएको बताउँछन, राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष, नबराज बस्नेत । किसान तहमै गएर क्षतिको विवरण संकलन गरी किसानलाई राहत दिनुपर्ने उनको माग छ ।
‘विवरणकै हिसावले हेर्ने हो भने पनि यति ठूलो क्षति भएको छ, यो पनि वास्तविक तथ्यांक हो कि मिथ्यांक हो भन्ने कुरामा हामीमा शंका गर्ने ठाउँ छन्’ उनले भने, ‘सरकारले साँच्चीकै फिल्डमै गएर किसानको क्षतिको वास्तविक विवरण संकलन गरेर राहत दिनुपर्ने हाम्रो माग छ ।’
कतिपयले भने हचुँवाका भरमा संकलन गरिएको क्षतिको विवरणले पीडित किसानलाई भन्दा अन्य गैरकिसानलाई फाइदा हुने बताउँछन् । क्षतिको प्रारम्भिक विवरण आए पनि यति नै किसानको क्षति भएको हो भनेर सरकार ढुक्क हुन सकेको छैन् ।
फलस्वरुप, क्षतिको विवरण संकलन गर्न कार्यदल गठन भइसकेको छ । त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको मंगलबारको संघ र प्रदेशस्तरी समन्वय बैठकले समेत एक हप्ताभित्र क्षतिको कृषकस्तरको विवरण संकलन गरी राहत दिने निर्णय गरिसकेको छ ।
प्रारम्भिक क्षतिको विवरण ठूलो देखिएता पनि पुनः क्षतिको कृषकस्तरको विवरण संकलन गरेपछि क्षतिको यकिन र वास्तविक तथ्यांक आउने मन्त्रालयका प्रवक्ता प्रकाश सन्जेलले बताए ।
किसानको हजारौं हेक्टर काटिसकेको र काट्न बाँकी धानबालीमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ । खासगरी पूर्ण क्षति, आंशिक क्षति र सामान्य क्षतिको वास्तविक विवरण संकलन गरेर क्षति भएको धानबालीको क्षेत्रफल र उत्पादन लागतका आधारमा किसानलाई राहत दिने निर्णय भएको छ । समन्वय बैठकले आगामी सिजनका लागि पीडित किसानलाई बीउबीजन, मल र सिँचाई सामग्री निशुल्क उपलव्ध गराउने निर्णय भएको छ ।
यता, कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले पनि क्षति ब्यहोरेको वास्तविक पीडित किसानलाई क्षतिको यकिन विवरण सकलन गरी क्षतिपूर्ति दिने बताएका छन् । किसानलाई क्षतिको राहतका लागि थप बजेटको व्यवस्थाका लागि प्रस्ताव पेश गर्ने मन्त्रालयले जनाएको छ ।