काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा बुझाएकी छन् । प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै मुख्यमन्त्री शाक्यले राजीनामा बुझाएको केही बेरमा प्रदेशप्रमुखको कार्यालय पुगेर पनि उनले राजीनामा बुझाएकी हुन् ।
सत्तारुढ दल वा सत्ता साझेदार दल विभाजन भएपछि संविधानतः ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता अनुरुप मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरेकी थिइन् । सो प्रस्तावमाथि छलफल भइ मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले राजीनामा घोषणा गरेकी हुन् ।
१०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको ५६ सांसद हुँदा भदौ २ गते एकल बहुमतको मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य पार्टी विभाजित भई नेकपा एकीकृत समाजवादी गठन भएपछि अल्पमतमा परेकी थिइन् ।
हाल प्रदेशसभामा एमालेको ४३ सांसदमात्र छन् ।उनले राजीनामा दिएपछि यस प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन हुने भएको छ । उनको पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको सहभागितामा सरकार गठन गर्न बाटो खुलेको छ ।