बेमौसमी बर्षाबाट पीडित किसानले राहत पाउने, ५ अर्ब ५२ करोड बराबरको राहत दिने निर्णय

२०७८ कार्तिक ११ गते प्रकाशित

काठमाडौं । बेमौसमी बर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानले राहत पाउने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले धानबालीमा भएको क्षतिको आधारमा किसानलाई राहत दिने निर्णय गरेको हो । सरकारले पूर्ण क्षति र आंशिक क्षतिका आधारमा किसानको उत्पादन लागतका आधारमा ५ अर्ब ५२ करोड बराबरको राहत दिने निर्णय गरेको हो ।

त्यस्तै उत्पादन लागतका आधारमा प्रतिकठ्ठा र प्रति विघामा भएको धानबालीको क्षतिको राहत पाउनेछन् । जसअनुसार, १० कठ्ठासम्म क्षति हुने किसानले उत्पादन लागतको ६५ प्रतिशत राहत पाउने भएका छन् । जसअनुसार, त्यस्तै, ११ देखि ४० कठ्ठासम्म उत्पादनका लागतका आधारमा(३० प्रतिशत) का हिसावले प्रतिकठ्ठा ८८७ र प्रति बिघा १७ हजार ७४० रुपैयाँ राहत पाउनेछन् ।

४१ कठ्ठाभन्दा माथिका ठूला किसानले उत्पादन लागतका आधारमा २० प्रतिशत अर्थात प्रतिकठ्ठा ५९१ र प्रतिविघा ११ हजार ८२० रुपैयाँका दरले राहत पाउने सरकारले निर्णय गरेको छ ।

त्यस्तै, आंशिक क्षति हुने सवै वर्गका किसानका लागि समेत सरकारले राहत दिने जनाएको छ । जसअनुसार, सवै वर्गका किसानलाई उत्पादन लागत २० प्रतिशतका दरले प्रतिकठ्ठा ५९१ रुपैयाँ र प्रतिविघा ११ हजार ८२० रुपैयाँका दरले राहत पाउने जनाएको छ ।

हालसम्मको तथ्यांक अनुसार राहत उपलव्ध गराउने अनुमानित क्षेत्रफल १ लाख ११ हजार हेक्टर रहेको सरकारले जनाएको छ । त्यसबापत राहतका लागि ५ अर्ब ५२ करोड रुपैयाँ खर्च हुने अनुमानित रकम समेत सरकारले सार्वजनिक गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानबालीमा क्षति ब्यहोरेका सबै किसानलाई राहत दिने गरी निर्णय गरेको जनाएको छ । मन्त्रालयका सुचना अधिकारी डा. प्रदीपचन्द्र भट्टराइले क्षतिको उत्पादन लागतका आधारमा पूर्ण र आंशिक क्षति भएका किसानलाई राहत दिने गरी निर्णय गरिएको बताए ।

उनका अनुसार, धानबालीमा क्षति भएको तर, बाली बीमा गरेका किसानले राहत नपाउने बताए । उनले धानको न्युनतम समर्थन मूल्य कायम गर्दा निर्धारण भएको उत्पादन लागतका आधारमा किसानले राहत पाउने बताए ।

किसानलाई राहत वितरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउने र सो कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई पेश गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।