काठमाडौं । दशैंपछि हरियो तरकारी मूल्य झनै महंगिएको छ । दैनिक उपभोक्ताका भान्सामा पाक्ने अधिकांश तरकारी मूल्य दशैंयता आकासिँदै गएको हो । मौसमी तथा बेमौसमी हरियो तरकारीको मूल्य पछिल्लो दुई सातायता अचाक्ली बढेको हो ।
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा अधिकांश तरकारीको थोक मूल्य नै बढेको छ । अझ स–साना खुद्रे व्यापारीका पसलमा पुग्दा त तरकारीको भाउ छोइनसक्नु भएको हो ।
कालीमाटी तरकारी बजारमा दशैंको भोलीपल्टको मूल्यको तुलनामा केही तरकारीको मूल्य दोब्बरले बढेको छ । जसमध्ये भिन्डी, बोडी(तने), टमाटर, लौकालगायतका केही तरकारीको मूल्य दोब्बरले बढेको हो ।
कालीमाटी फलफुल तथा तरकारी बजारमा असोज ३० गते प्रतिकेजी ५५ रुपैयाँमा थोक मूल्यमा बिक्रि भएको भिन्डीको मूल्य कात्तिक १४ गते ११५ रुपैयाँ पुगेको छ । त्यस्तै, ४५ रुपैयाँ प्रतिकेजीमा बिक्रि भएको लौकाको मूल्य वृद्धि भएर ९५ रुपैयाँ प्रतिकेजी पुगेको छ ।
त्यस्तै, कालीमाटीमा यसअघि ७५ रुपैयाँ प्रतिकेजी औसतमा बिक्रि भएको बोडी(तने)को मूल्य अहिले बढेर १५० रुपैयाँ पुगेको छ । त्यस्तै गोलभेडाको मूल्य पनि अत्यधिक बढेको छ । असोज ३० मा प्रतिकेजी ७५ रुपैयाँ बिक्रि भएको ठूलो गोलभेडा(नेपाली) र ६५ रुपैयाँमा पाइने सानो गोलभेडा(टनेल)को मूल्य बढेर अहिले प्रतिकेजी औसत ८५ रुपैयाँ पुगेको छ ।
सानो भारतीय गोलभेडाको मूल्य ४२ रुपैयाँ ५० कायम भएकोमा कात्तिक १४ गतेसम्म आइपुग्दा ६५ रुपैयाँ पुगेको हो । यसअघि २७ रुपैयाँ प्रतिकेजीमा बिक्रि भएको भारतीय रातो आलुको मूल्य बढेर ४६ रुपैयाँ पुगेको छ । यता, लोकल काउलीको मूल्य पनि बढेको छ । यसअघि ८० रुपैयाँ प्रतिकेजीमा थोक मूल्यमा बिक्रि भएको काउलीको भाउ अहिले आएर ११० रुपैयाँ पुगेको छ ।
त्यस्तै, यसअघि ८५ रुपैयाँ बिक्रि भएको घिरौलाको मूल्य बढेर ९५ रुपैयाँ प्रतिकेजी पुगेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
दसैंयता अधिकांश हरियो तरकारीको मूल्य केही बढेको समितिका सुचना अधिकारी विनय श्रेष्ठले कृषिपानालाई जानकारी दिए । ‘दसैँयता धेरैजसो तरकारीको मूल्य केही न केही बढेकै देखिन्छ’ उनले भने, ‘टमाटर,काउली, भिन्डीलगायतका मौसमी तरकारीको मूल्य पनि बढेको छ ।’ कालीमाटी बजारबाट थोक मूल्यमा खरिद गरी खुद्रा व्यापारीले नाफा राखेर बेच्दा उपभोक्ता मूल्य झनै बढेको छ ।