काठमाडौं । गत २०७० असोजमा झापाको दमकस्थित श्रीराम कृषि भण्डारले तरकारी र अन्नबालीको अबैध बीउ बिक्रि वितरण गरेपछि प्रहरीले सञ्चालक राजेशप्रसाद दासलाई पक्राउ गर्यो । जनकपुरबाट ल्याउँदै गरेको ७५० प्याकेट नक्कली बीउ बिजन बरामद भयो ।
उक्त नक्कली बीउबिजनका कारण झापा, मोरङ, सिरहा र सप्तरीलगायतका जिल्लाका किसानले क्षति ब्यहोर्नु पर्यो । अबैध बीउ बेच्ने कम्पनीउपर छानबीन गरिए पनि कारबाही हुन सकेन् । सो मुद्धा त्यसै सेलायो ।
त्यस्तै, २०७६ मंसिरमा चितवन र मकवानपुरमा एक हजार विघा क्षेत्रफलमा लगाइएको किसानको धानमा बाला लागेन, कारण गरिमा धानको बीउ नक्कली भएको पत्ता लाग्यो । त्यसबापत किसानको झन्डै २३ करोडभन्दा बढी बराबरको धानबालीमा क्षति पुगेको सरकारी टोली स्थलगत रुपमै अध्ययन गरी क्षतिको मुल्यांकन गरेको थियो ।
सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालि लमही दाङले भारतको हैदराबादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातको वर्णशंकर धानको बीउ आयात गरि विभिन्न किसानलाई बिक्रि गरेको थियो । नक्कली गरिमा जातको बीऊबाट ठगिएका किसानले क्षतिपूर्ति पाएनन्, बिक्रिकर्ता कम्पनीलाई सामान्य जरिवाना लगाएर छोडियो ।
अहिले पनि काठमाडौं उपत्यकाको भक्तपुर चाँगुनारायण नगरपालिका–६ मा करिब हजार रापनीमा लगाएको धानमा बाला नलागे पछि किसानलाई अर्को विपत्ति आइलागेको छ । चीनिँया जातको डि वाई २८ नामको हाइब्रीड धान लगाएका थिए । जुन, बीऊ सिचुवान प्राप्त चीन र नेपालका लागि आधिकारीक बिक्रेता काष्ठमण्डप ट्रेड प्वाइन्टमार्फत बिक्रि वितरण हुँदै आएको थियो ।
भक्तपुरको सुर्यविनायक नगरपालिका–४ को दधिकोट, ललितपुरको चापागाउँ लेलेलगायत काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा लगाइएको सो जातको धानको बीऊमा समस्या देखिएको छ ।
विगत ५÷६ वर्षअघि पनि भक्तपुरमा नै डी वाई ६९ जातको धानमा पनि यस्तै समस्या देखिएको किसानहरुले बताएका छन् । वीउ बिक्रिकर्ता कम्पनी काष्ठमण्डप ट्रेड प्वाइन्ट कम्पनी बीउबीजन गर्न सरकारको नियमअनुसार सुचीकृत कम्पनी हो ।
सरकारबाट सुचीकृत भएको कम्पनीमार्फत बिक्रि वितरण भइरहेको बीऊ बिजनबाट नै किसान ठगिएका छन् । त्यस्ता नक्कली र अबैध बीऊको कारोबार गर्ने कम्पनीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ र, ठगिएका र क्षति ब्यहोरेका किसानलाई तत्काल क्षतिपूर्ति दिनुपर्ने सरोकारवाला निकायको माग छ ।
यसपटक काठमाडौं उपत्यकाका जुन–जुन ठाउँमा धानबाली लगाएर समस्या देखियो, ती ठाउँमा बीऊमै कैफियत देखिएको राष्ट्रिय कृषक समुह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारी बताउँछन् ।
‘यो पटक बीऊमै कैफियत हो, सिफारीस गरिएको जातको बीऊको कुरा गौण नै हो । किनकी, तल्लो गरामा राम्रो धान फलेको छ, माथिल्लो गरामा बाला लागेको छैन, भुसैभुस देखिन्छ’ उनले भने, ‘त्यसैले, एक त बीऊ सिफारीस गर्ने ‘सिस्टम’ मै कमजोरी छ, अर्को व्यापारीले चलखेल गरेर आयातित बीऊमै अर्कै जातको बीऊ मिसाएर बिक्रि गरेको हुन सक्छ । त्यो उताको कम्पनीमा पनि हुन सक्छ, यहाँकै कम्पनीले पनि हुनसक्छ ।’
एकै ठाउँमा लगाइएको रातो डाँठ भएको धान राम्रो फलेको तर, सेतो डाँठ भएको धानमा भुसैभुस रहेकाले पनि अर्कै बीउ मिसाएर व्यापारीले चलखेल गरेको हुन सक्ने उनी बताउँछन् । नियमअनुसार सूचीकृत भएका बीऊबिजन कम्पनी तथा व्यापारीले चलखेल गर्दा समेत सरकारी निकायबाट संरक्षण हुँदा किसान ठगिएको उनी बताउँछन् ।
धेरै फल्ने नाममा सिफारीस गरिएका बीऊबिजन पनि किसानका लागि आत्मघाती रहेको उनी बताउँछन् । ‘किसान स्वंयमलाई पनि धेरै फल्ने नाममा जुन खालको जातको बीऊमा किसानको आकर्षण छ, त्यो आत्मघाती छ’ उनले भने, ‘अहिले पुस्ताका किसान एक वर्ष भोकै पर्लान, आफ्नो ठाउँमा छ । तर, उनीहरुको छोरा नातीको पुस्ता सधैंका लागि भोका पर्छन, यो कुरा अहिले नै किसानले बिचार गर्नुपर्छ ।’
देशभर सिफारीस गरिएका बीऊबीजन सबैक्षेत्रका लागि सिफारीस भएका हुँदैनन् । कोही पहाडका लागि हुन्छन, कोही हिमाली र कोही तराई क्षेत्रका लागि मात्र बीऊ सिफारीस गरिएको हुन्छ ।
नियमअनुसार सुचीकृत कम्पनी वा एग्रोभेटहरुले विदेशबाट आयात गरेर बिक्रि वितरण गरेको बीऊबिजनमा बढी समस्या देखिएको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका सुचना अधिकारी तथा वरिष्ठ बाली विकास अधिकृत डा. प्रकाश आचार्य बताउँछन् ।
‘यहाँ समस्या के भयो भने विदेशबाट आयात भएर यहाँ रजिष्र्टड भएका ‘भेराइटी’ मा त्यो समस्या आएको छ । चाहे त्यो गरिमा नै भन्नुस, वा डी वाई ६९ नै भन्नुस, बाहिरबाट आएको जातको बीऊमा समस्या छ’ उनले भने, ‘कतिपय जातको बीऊ तराईमा सिफारीस गरिएको हुन्छ, पहाडमा लगाए भने १÷२ वर्ष फल्न सक्छ, त्यसपछि नफल्न सक्छ ।’
अहिले समस्या देखिएको डी वाई २८ नामक जातको धानको बीऊ तराईमा समुद्री सतहदेखि ७०० मिटरसम्म लगाउनुपर्छ । तर, किसानले पहाडमा लगाउँदा बाली नलागेर किसानलाई क्षति पुगेको उनी बताउँछन् ।
केन्द्रका अनुसार, बीऊ सिफारी गर्दा पनि तराईमा ७०० मिटरसम्म लगाउने गरी सिफारीस गर्ने गर्छ र, आयात गर्ने कम्पनीले पनि बीऊ आयात गर्दा ‘इमपोर्ट प्रमिट’ गर्नुपर्छ । जहाँ, सुचीकृत एग्रोभेट वा आयात गर्ने कम्पनीले सिफारीस नभएको क्षेत्रमा बीउ बेच्न पाउँदैन् ।
यस विषयमा थप स्पष्टीकरणका लागि डी वाई २८ जातको धानको बीऊ बिक्रि वितरण गर्ने कम्पनी काष्ठमण्डप ट्रेड प्वाइन्टलाई बोलाइएको आचार्यले बताए ।