काठमाडौं । डी वाई २८ जातको धानको बीऊबाट ठगिएका किसानलाई क्षतिपूर्ति दिने बिषयमा बीउ बिक्रेता कम्पनी काष्ठमण्डप ट्रेड प्वाइन्ट सकारात्मक देखिएको छ । बुधबार बीऊ विजन गुणस्तर नियन्त्रण केन्द्रले बोलाएको बैठकमा काष्ठमण्डप कम्पनीले बीऊका कारण किसानले क्षति ब्यहोर्नुपरेको भन्दै त्यसको यर्थाथ तथ्यांक संकलन गरी क्षतिपूर्ति दिन काष्ठमण्डप तयार भएको हो ।
केन्द्रका सुचना अधिकारी तथा वरिष्ठ बाली विकास अधिकारी डा. प्रकाश आचार्यले , बीऊ विक्रि वितरण गर्ने कम्पनीसँगको बैठकमा किसानलाई क्षतिपूर्ति दिन सहमत भएको जानकारी दिए ।
‘उहाँहरु किसानलाई क्षतिपूर्ति दिन सहमत हुनुभएको छ त्यसको प्रक्रिया के कसरी गर्ने र, तथ्यांक संकलन गर्न पर्यो । उक्त कम्पनीबाहेक सो जातको धानको बीऊ अरुले ल्याउन पाउँदैन ।’ उनले भने ।
बुधबारको बैठकमा कम्पनीतर्फबाट उपस्थित कर्मचारीले तथ्यांक संकलन गरेर किसानको क्षतिपूर्ति दिने प्रतिवद्धता गरिएको बताए । कृषि ज्ञान केन्द्रको संयोजकत्वमा ५ सदस्यीय क्षतिको तथ्यांक संकलन टोली समेत गठन गरिएको आचार्यले बताए ।
‘कृषि ज्ञान केन्द्रको संयोजकत्व टोली बनाएर तथ्यांक संकलन गर्ने कुरा पनि बुधबारको बैठकमा भएको छ, उनले भने, ‘दश दिनभित्र तथ्यांक संकलन गरेर उक्त टोलीले प्रतिवेदन बुझाउने छ, र, त्यसपछि क्षतिपूर्ति के कसरी दिने भनेर छलफल हुनेछ ।’ केन्द्रले डी वाई २८ जातको धानको बीऊ बिक्रि गर्ने बिक्रेता काष्ठमण्डप कम्पनीलाई स्पष्टीकरणसहित आउन पत्र काटेको थियो ।
किसानलाई क्षतिपूर्ति दिन आनाकानी गरेमा लाइसेन्स खारेज गर्नेसम्मको ‘केरकार’ पारिए पछि कम्पनीले यर्थाथ क्षतिको तथ्यांक लिएपछि क्षतिपूर्ति दिन सकारात्मक देखिएको उनले बताए ।
कृषि ज्ञान केन्द्र ललितपुरको संयोजकत्वमा पाँच सदस्यीय तथ्यांक संकलन टोलीमा बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, कम्पनीका तर्फका एक प्रतिनिधी, स्थानीय तहबाट एक कर्मचारी र कृषि अनुसन्धान परिषद्(नार्क)बाट पनि एक प्रतिनिधी सहभागी छन् ।
यो पनि पढ्नुहोस, नक्कली बीउ बिजनबाट सधैं किन ठगिन्छन् किसान ?
बिहीबार देखि नै गठित तथ्यांक संकलन टोलीले काम सुरु गर्ने आचार्यले बताए । केही साताअघि भक्तपुर चाँगुनारायण नगरपालिका–६ मा करिब हजार रापनी क्षेत्रफलमा लगाएको धानबालीमा बाला नलागेपछि किसान यतिबेला पीडित बनेका छन् । चीनिँया जातको डि वाई २८ नामको हाइब्रीड धानको बीउ लगाएका किसानले क्षति ब्यहोर्नु परेको हो । जुन, बीऊ सिचुवान प्राप्त चीन र नेपालका लागि आधिकारीक बिक्रेता काष्ठमण्डप ट्रेड प्वाइन्टले बिक्रि वितरण गरेको थियो ।
त्यस्तै, दधिकोट, ललितपुरको चापागाउँ लेलेलगायत काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा लगाइएको सो जातको धानको बीऊमा कैफियत देखिएको छ । वीउ बिक्रिकर्ता कम्पनी काष्ठमण्डप ट्रेड प्वाइन्ट कम्पनी बीउबीजन गर्न सरकारको नियमअनुसार सुचीकृत कम्पनी हो ।