कोरोनाको बहानामा चीनको अघोषित नाकाबन्दीः तातोपानी नाकामै अड्कियो रासायनिक मल

२०७८ कार्तिक १७ गते प्रकाशित

काठमाडौं । झन्डै डेढ महिनादेखि नेपाल–चीन सीमा नाका तातोपानीमा रासायनिक मल अड्किदा नेपालमा मलको हाहाकार हुने भएको छ । कोभिड–१९ को जोखिमका कारण चीनले सो नाकाको ढुवानीमा थप कडाई गर्दा मल आयात हुन सकेको छैन् ।

चीनबाट ल्याउने भनिएको १० हजार मेट्रिक टन युरिया र ५ हजार मेट्रिक टन डीएपी मल नाकामा गरिएको कडाईका कारण आउन सकेको छैन् । यसअघि रासायनिक मल ढुवानीका लागि नाकामा केही सहज गर्न चीनिँया पक्ष लचक देखिए पनि तातोपानी नाका अझै खुलेको छैन् ।

अहिले नेपालमा कोरोना महामारीको जोखिम कम हुँदै गएर सबै क्षेत्र चलायमान छ । तर, पनि तातोपानी नाका हुँदै नेपाल आयात हुने वस्तुको ढुवानी असहज हुनुलाई धेरैले चिनिँया पक्षको ‘अघोषित नाकाबन्दी’ भन्ने गरेका छन् ।

देशभर गहुँ खेतीको सिजन सुरु भइसकेको छ । यो बेला युरियाभन्दा डीएपी मलको बढी माग हुन्छ । तर, मल ल्याउने बिषयमा भने कृषि तथा पशुपन्छी विकास मन्त्रालय उदासीन देखिएको छ । कृषि मन्त्री महिन्द्र राय यादवले मन्त्रालय सम्हालेको तीन साता बित्यो । तर, उनी मल अभाव र किसानका समस्यालाई पर राखेर आफ्ना कार्यकर्ता भेटघाट र बधाई लिनै भ्याइ नभ्याई छ ।

धान, गहुँ, मकै र उखु खेतीका लागि बार्षिक झन्डै ९० हजार मेट्रिक टन डीएपी मल मात्रै आवश्यक पर्ने सरकारी आंकडा छ । तर, अहिले कृषि सामग्री कम्पनीको गोदाममा कत्ति पनि डीएपी मल छैन् ।

कृषि सामग्री कम्पनीका विभागीय प्रमुख राजेन्द्रबहादुर कार्की नेपाललाई कोरोनाको जोखिमयुक्त क्षेत्र देखाएर चीनिँया अघोषित नाकाबन्दीले मल आउन नपाएको बताउँछन । ‘मुख्य समस्या किसानलाई रासायनिक मलको छ । भारतबाट खरिद प्रक्रियामार्फत आउने मल पनि आएको छैन’ उनी भन्छन, ‘यता, चीनले कोरोनाको बहाना बनाएर अघोषित नाकाबन्दी गरेको छ । यसले पनि चीनबाट आउने १५ हजार मेट्रिक टन मल आउन पाएन ।’

१५ हजार मेट्रिक टनमध्ये हालसम्म १५ सय मेट्रिक टन मल मात्रै सो नाका हुँदै आएको उनले बताए । चीनबाट ल्याइने सो मल काठमाडौं उपत्यकाका तीन जिल्लासहित धादिङ, दोलखा, काभ्रे, सिन्धुलीलगायतका जिल्लामा वितरण हुने छ ।