जिरी एयरपोर्ट गौँचरणमा परिणत, ललिता जिरेल जसको दैनिक गाई चराएर बित्छ

२०७८ कार्तिक १८ गते प्रकाशित

काठमाडौं । दोलखाको जिरी एयरर्पोटमा पुग्दा चौरमा वरिपरी गाई चरिरहेका थिए । पहिले पहिले हवाईजहाज अवतरण गर्ने र उडान भर्ने बिमानस्थल अहिले गौचरनमा परिणत भइसकेको छ । एयरपोर्टमा अहिले ७५ वटा गाईहरु दैनिक रुपमा चरण गर्ने गर्छन् । जुन, गौमाताको सेवामा खटिएकी छिन्, त्यहाँकै स्थानीय ललिता जिरेल । उनी एयरर्पोटमा विगत डेढ वर्षदेखि गाई चराउँदै आएकी छन् ।

उनको यतिबेलाको दैनिक गाई चराएर बित्छ । बिहान घाम ननिस्कदै करिब ८ बजे गाई चराउन निस्कने उनी अपराह्न ४ बजेबाट गोठमा ल्याइ पुर्याउछिन । गाई चराएबापत उनले १७ हजार रुपैँया कमाउँछिन् ।

उमेरले ३० वर्षे उमेरकी उनको ६ जनाको परिवार सोही आम्दानीले पालिएको छ । उनले भनिन्,‘जिरी एयरर्पोटमा रहेको गाईको जिम्मेवारी सरकारले नै लिने गरेको छ, र हामीलाई तलब पनि सरकारमार्फत कृषि फार्मले दिन्छ ।’

फार्ममा ७५ वटा गाई चराउने जिम्मेवारी २ जनाले लिएको उनले बताइन् । ७५ मध्ये ५० वटा गाइले मात्र दुध दिने गर्छ । कोही ब्याउने र कोही बाच्छा बाच्छी भएकाले सबै गाइले एकनास दुध दिदैँन । बर्खाको समयमा गाई चराउन मुस्किल हुने उनी बताउँछिन् । ‘बर्खाको समयमा सबै तिर हिलो हुने र सिम तिर गएर गाईहरु भासिने भएकाले यो समय गाई चराउन मुस्किल हुन्छ ।’ उनले भनिन् ।

उनीसँगै राष्ट्रिय पशुपन्छी श्रोत तथा प्रवर्द्रन कार्यालय गाई अनुवांशीक श्रोत केन्दका नायव तथा पशुसेवा प्राविधिक बालकुमार दाहाल ४ वर्ष देखि निरन्तर रुपमा काम गरिरहेका छन् । यो फार्म स्विजरल्याण्ड सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०१४ सालमा स्थापना गरेर नेपाल सरकारलाई २०२० सालमा हस्तान्तरण गरेको दाहालले बताए । नेपाल सरकारलाई हस्तान्तरण गरेपश्चात बागवानी, हटीकल्चर र लाइभस्टक सबैलाई समेटेर ठुलो फार्म थियो र अहिले त्यो छुट्टिएपछि पशुपालन मात्र रहेको उनले बताए ।

अहिले उक्त मार्फमा जर्सी गाई पाल्ने लक्ष्य नेपाल सरकारको रहेको उनले बताए । उक्त फार्ममा अहिले जर्सी, होलिस्ट्रेन,र यिनका क्रसहरु रहेको उनले बताए । दसैँ अघिसम्म १५० वटा गाई रहेको र त्यसपछि लिलाम गरेर बेचेपछि १०५ वटा गाई बाच्छाबाच्छी रहेका छन् । त्यसमा २२ वटा होलिस्टेन छन् र अरु जर्सी र क्रसहरु रहेको दाहालको भनाइ छ । होलिस्टेन गाई भनेको अरु गाईको तुलनामा दुध पनि धेरै आउने र तौल पनि ८ सय किलोसम्म भैँसी बराबर हुने उनले बताए ।

यो फार्म जिरीमा ८४ हेक्टरमा फैलिएको छ । त्यहाँ ७ जना स्थायी कर्मचारी रहेका छन भने अस्थायी १५ जना कर्मचारी रहेका छन् । सो फार्मले दैनिक ३ सय २० लिटर दुध उत्पादन गर्ने गरेको छ । दुध वार्षिक टेन्डर गरेर बेच्ने गरेको उनले बताए ।

फार्मको शाखा दोलखा जिरीमा मात्र नभएर रामेछापमा समेत रहेको छ । रामेछापमा बाच्छा÷बाच्छी र साढँेहरु राखेको र २ जना काम गर्ने कर्मचारहिरु समेत रहेको उनले बताए । किसानले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा त्यहाँबाट नै सेवा लिने गरेको उनले बताए । उक्त र्फामबाट गत आर्थिक वर्षमा ९७ देखि ९८ लाख संकलन भएको र यो आर्थिक वर्षको ३ महिनामा २८ देखि २९ लाख रुपैयाँ संकलन भएको उनले बताए । यस फार्ममा निमार्ण लगायत वर्षिनै ३,४ करोड बजेट छुट्याउने गरेको उनको भनाई छ ।

पूर्व पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले काठमाडौँको हवाई ट्राफिक व्यवस्थालाई सहज बनाउन तथा सगरमाथा, रोल्वालिङ हिमाल लगायत पूर्वी क्षेत्रको पर्वतीय उडानका लागि जिरी एयरपोर्ट उपयुक्त रहेको बताएका थिए । उनले रामेछापको मन्थलीमा सञ्चालनमा रहेको एयरपोर्ट आवतजावतका लागि ठीक भएता पनि पर्यटकीय दृष्टिकोणले जिरीमा समेत हवाई सेवा सञ्चालन अपरिहार्य रहेको बताएका थिए । तर, अधिकारी स्वर्गीय भइसके । उनको योजना अहिले पनि साकार हुन सकेको छैन् । फलस्वरुप, एयरर्पोट अहिले गौचरणमा परिणत भइसकेको छ ।

जिरेल समुदायको बाक्लो बस्ती रहेको जिरीलाई नेपालको स्विजरल्याण्डको रुपमा व्याख्या गरिन्छ । यहाँको हावापानी, भूगोलका आधारमा जिरीलाई स्विजरल्याण्डको रुपमा नामकरण गरिएको पाइन्छ । दोलखाको जिरी एयरर्पोट स.न १९७६ बाट विमानस्थल सञ्चालनमा आएको थियो । तर उक्त एयरर्पोट हाल गौचरणका. रुपमा स्थापित भएको छ ।
(दोलखाको पर्यटकीय नगरी जिरीबाट फर्केपछि)

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नेपालको जलविद्युत् सम्भावनाको पूर्ण उपयोग गर्दै …
पर्वत– जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरि क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको …