वर्षेनी नेपाल राष्ट्र बैंकले दशैँको मौका पारेर नयाँ नोट छाप्ने गर्छ तर तिहार नआउँदै थोत्रो बनाउने प्रायस्को बानी छ । वर्षेनी बजारमा आउने ५० अर्ब बराबरका नयाँ नोटहरु छाप्न ३ अर्ब रुपियाँ खर्च हुने गर्दछ। सरकारले नयाँ नोट छाप्ने मेसिन राखेको छ, विना खर्च नयाँ नोट छाप्छ भन्ने लाग्दो होला तर नेपाली नोट छाप्नको लागि हामीले तिरेको करबाट व्यहोर्ने गरी तीन अर्ब रुपियाँ प्रतिवर्ष विदेशमा खर्चिनु पर्दछ ।
नोटलाई सफा राख्ने सही तरिकाले खर्च गर्ने गरेको भए बर्सेनी विदेसिनबाट जोगिएको ३ अर्ब रुपियाँ अरु विकास निर्माणको कार्यमा लगाउन सकिन्थ्यो तर हाम्रै लापरबाहीले गर्दा ५ देखि १० वर्षमा खर्च गर्नुपर्ने पैसा तीन वर्षभित्र खर्च गर्ने गर्दछौं । हामी प्रायस् नेपालीको नोट प्रयोग भण्डारण गर्ने गलत बानीले गर्दा नेपाली नोटको आयु तीन वर्ष रहने देखिएको छ, राम्रोसँग उपयोग गर्ने हो भने १० वर्षसम्म प्रयोग गर्न सकिने बताइन्छ ।
नोट राष्ट्रिय सम्पत्ति हो यसलाई सदुपयोग गर्नुपर्छ केरमेट गर्नुहुँदैन । नोटमा केरमेट गर्ने कच्याककुचुक पारेर खल्तीमा राख्ने कपडामा पोको पार्ने, धरोमा राख्ने गरेको पाइन्छ । दशैंमा छापेका नयाँ नोट तिहार नलाग्दै बिग्रिसके । नोट गनेपछि जम्मा अङ्क लेख्ने गरिन्छ । कतिपयले त आफ्नो नाम पनि लेखेका हुन्छन् पूजाआजा गर्दाखेरि दुध दहीले लतपत्याउने पानीले भिजाउने अबिर, रंग लगाउने गर्दा नोट चाँडै थोत्रा हुन्छन्, लामो समय टिक्दैनन् । थोत्रा भएका नोटहरूलाई राष्ट्र बैंकले जलाउने र नयाँ नोट छाप्नको लागि पुनः खर्च गर्ने गर्दछ । धार्मिक, सामाजिक कार्य विभिन्न संस्कारहरुमा लापरवाहीपूर्ण तरिकाले नोट प्रयोग गर्ने बानीले नोटको आयु कम हुन्छ ।
राष्ट्र बैंकले नोट सफा राख्नको लागि नयाँ नोटको नीति बनाई जारी गरे पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । जसले नोट सुरक्षित राख्दैन नोटमा केरमेट गर्छ जसले नाम वा अरु केही लेख्छ यस्तो व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजारसम्म जरिवाना गर्ने नियम ल्याए पनि कार्यान्वयन पक्ष आफैंमा फितलो छ । दशैँको सन्दर्भमा जारी गरिने नयाँ नोट तिहार नलाग्दै मैलो हुनुमा हामी नागरिकको ठूलो कमी कमजोरी रहेको छ ।
पहिले पहिले त बैक आफैले नोटलाई एकठाउँमा बिटो पारेर स्टिच हान्ने गर्दा नोट चाँडै फाट्ने गरेको थियो अहिले स्टिच हान्ने क्रम हटे पनि लेख्ने क्रम कम भएको छैन । पूजाआजामा नोट चढाउने र तिनै नोटलाई फेरि अक्षता फूलपाती र पानी लिएर सङ्कल्प गर्दै रङ्ग्याउने प्रवृत्ति हामीमा रहेको छ । नोटलाई कसरी सफा राख्न सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित हुन जरुरी देखिन्छ ।
माछामासुको व्यापार गर्नेहरुले पनि नोटलाई दुषित तुल्याएको पाइन्छ, नोटमा रगत लगाउने, मासु कारोबार गर्दा रगताम्मे हातले नोट समाउने र नोटलाई दुषित बनाउने गरेको देखिन्छ । कतिपयले नोटलाई धुने गरेको पनि पाइन्छ । हाम्रो नोट प्रयोगसम्बन्धी खराब बानीले नोटहरु दूषित,सबैभन्दा फोहोरी भईअन्ततः नेपाल राष्ट्र बैंकमा जम्मा हुने र तिनलाई जलाउनु पर्ने परिस्थिति रहेको सन्दर्भमा अब सफा नोटको नीतिलाई हामी सबैले आफ्नो ठाउँबाट कार्यान्वयन गर्नु जरुरी रहेको छ।
धर्मको नाममा जलासयमा पैसा नबगाऔं, भौतिक निर्माणको शिलान्यासका नाममा पैसा जमिनमुनि नपुरौं । नोटलाई ब्यागमा राख्ने गरौं नोटलाई सिधा तरिकाले राख्ने दिने बानी बसालौं । विद्युतीय माध्यमको प्रयोग गरौं, ई( बैंकिङ प्रयोग गरौं,चढाउँदा दानपेटिकामा राखौं र रसिद चेक आदिबाट रकमको कारोबार गरौं स्टिच नलगाऔं र धार्मिक कार्यमा नोटको प्रयोग गर्दा सचेत रहौं । माछा मासुको कारोबार गर्दा रगत नलगाऔं । सचेत व्यक्तिहरूले ई(बैकिङमार्फत रकमको कारोबार गरेको खण्डमा नोट सफा राख्न सकिन्छ । लापरवाही गर्नेलाई सख्त कारवाही गरौं ।
नोट राष्ट्रिय सम्पत्ति हो यसलाई बचाउन सकियो भने बर्सेनी नयाँ नोट जारी गर्नुपर्ने अवस्था पनि आउँदैन र नयाँ नोट छाप्नको लागि राष्ट्रिय ढुकुटी खर्च पनि गर्नुपर्दैन । उक्त रकम अरु क्षेत्रमा लगाएर विकास निर्माणका काम गर्न सकिन्छ र मुलुकको विकास हुनसक्छ । हाम्रो करबाट खर्च हुने पैसा अन्य क्षेत्रमा लगाउन सकियो भने देशलाई नै फाइदा हुन सक्ने हुँदा नोट सफा राखौं देशको ढुकुटी विदेसिनबाट जोगाऔ र सभ्य नागरिकको परिचय दिऔं ।