तीन महिनादेखि कृषि विभाग नेतृत्वविहीन

२०७८ कार्तिक २२ गते प्रकाशित

काठमाडौं । कृषि विभाग करिब तीन महिनादेखि नेतृत्व विहीन बनेको छ । गत साउन २५ मा गोविन्दप्रसाद शर्मा सह–सचिवबाट सचिवमा बढुवा भएसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्र्ततको महत्वपुर्ण निकाय कृषि विभाग नेतृत्वविहीन बनेको हो ।

शर्मा सचिव बढुवा भएसँगै उनले सम्हालेको विभागको महानिर्देशक पद रिक्त भयो । त्यसयता विभागको महानिर्देशक नियुक्त हुन सकेको छैन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्र्तगत हुने महत्वपूर्ण कार्यक्रम कार्यान्वयन गर्ने निकाय विभाग नै हो । विभाग लामो समय नेतृत्वविहीन हुँदा महत्वपूर्ण निर्णय र कार्यक्रम कार्यान्वयन र सम्पादन हुन सकेका छैनन् ।

विभागका पहिलो चौमासिकका केही कार्यक्रमहरु समेत प्रभावित हुन पुगेका छन् । यसअघि दर्जनभन्दा बढी सह–सचिवको सरुवा भई केही प्रदेशतहमा पुगे भने केही प्रदेशमातहतबाट मन्त्रालयमा सरुवा भइ आए ।

अहिले पनि केही सह–सचिवहरु मन्त्रालयमै जिम्मेवारीविहीन छन् । केहीलाई सामान्य शाखा, महाशाखाको जिम्मेवारी दिइए पनि अन्य भने मन्त्रालयमै खुम्चिएका छन् । तर, विभाग भने लामो समय नेतृत्वविहीन हुँदा मन्त्रालयस्तरबाट कुनै चासो पुगेको देखिँदैन् ।