काठमाडौं । धान भित्र्याएर गहुँ छर्ने सिजन सुरु भइसक्दा देशभर डीएपी मलको चरम अभाव हुन थालेको छ । युरियाको तुलनामा यतिबेला बढी माग हुने डीएपी मल नै नपाएर किसान मारमा छन् ।
सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले बोलपत्रबाट खरिद गर्ने मल पनि आपूर्तिकर्ता कम्पनीले नल्याउँदा डीएपी मलको अभाव खड्किएको हो । अर्कोतर्फ, साल्ट ट्रेडिङ कर्पोरेशनले फास्ट ट्रयाकमार्फत ल्याउनुपर्ने मल नल्याउँदा मलको अभाव थप चुलिएको हो ।
यसअघि पूर्व कृषिमन्त्री पद्मा अर्यालले द्रुतमार्ग(फास्ट ट्रयाक)बाट ५० हजार मेट्रिक टन मल ल्याउन साल्ट ट्रेडिङलाई जिम्मा दिइएकी थिइन् । तर, त्यो मल अहिलेसम्म साल्टले ल्याएको छैन् । साल्टले धान लगाउने सिजन पहिले नै ल्याइसक्नुपर्ने सो मल गहुँबालीको सिजनसम्म पनि ल्याउन सकेको छैन् ।
यता, उत्तरी नाकाबाट आउने १५ हजार मेट्रिक टन रासायनिक मल चीनको अघोषित नाकाबन्दीका कारण आएको छैन् । करिब १५ सय टन मल आए पनि बाँकी मल आयात हुने नाकामै रोकिएको छ । मल ढुवानीका लागि तातोपानी नाका हुँदै आउनुपर्छ । कोभिड—१९ महामारी यता चीनले सो नाका बन्द गरे पछि रासायनिक मलसँगै अन्य वस्तु आयातमा समस्या भइरहेको छ ।
यो पनि पढ्नुहोस, कोरोनाको बहानामा चीनको अघोषित नाकाबन्दीः तातोपानी नाकामै अड्कियो रासायनिक मल
भारतबाट खरिद प्रकृयामार्फत ल्याइने मल पनि पर्याप्त आइरहेको छैन् । भारतले मल ल्याउन स्वीकृती नदिएकै कारण पनि मल आपूर्तिमा समस्या भएको कृषि सामग्री कम्पनी स्रोत बताउँछ ।
अन्र्तराष्ट्रिय बजारमा रासायनिक मलको बढ्दो मूल्य र मल कारखाना बन्द हुँदै गएकाले पनि अहिलेको समस्या निम्तिएको कम्पनीका प्रवन्ध सञ्चालक नेत्र भण्डारी बताउँछन् । उनका अनुसार, आपूर्तिकर्ताले अन्र्तराष्ट्रिय मूल्यवृद्धिले मल नल्याइदिदा डीएपी मल अभाव हुने अवस्था आएको छ । कम्पनीका मल गोदाम तथा डिपोहरु यसअघि नै रित्तिसकेका छन् ।
सरकारी तथ्यांकअनुसार, गहुँ, उखुलगायतका बालीका लागि एक सिजनका लागि ९० हजार मेट्रिक टन मल चाहिन्छ । तर, अहिले न कृषि सामग्री कम्पनीको गोदाममा डीएपी मल छ, न साल्ट ट्रेडिङ कर्पोरेशनले नै मल ल्यायो ।
भारतबाट छिटपुट रुपमा मात्रै खरिद प्रकृयाको मल आए पनि तत्काल किसानको मागअनुसार मल आपूर्तिको समस्या ज्यूँका त्यूँ रहने मन्त्रालयका कर्मचारी नै स्वीकार्छन् । केही दिन अघि मात्र भारतबाट करिब २५०० मेट्रिक टन डीएपी मल जेनतेनले भित्रिए पनि बाँकी खरिद प्रकियाको मल आउने नआउने टुंगो नभएको कम्पनीले जनाएको छ ।
डीएपी मलको ‘पिक’ सिजनमै अभाव खेप्न बाध्य किसानको अवस्थाप्रति तालुक निकाय कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषिमन्त्री स्वंयमले पनि चासो दिनुपर्ने टड्कारो आवश्यकता छ ।
यो पनि पढ्नुहोस, रासायनिक मलको समस्या जर्जर, मन्त्रीलाई भने कार्यकर्ता भेटघाटमा भ्याइ नभ्याई