काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले डीएपी मलको सट्टा भारतका केही राज्यमा प्रतिवन्धित मल भित्र्याएर बिक्रि गरेको पाइएको छ । कम्पनीले आफुले ल्याउनुपर्ने डीएपी मल समयमै नल्याई त्यसको सट्टा एमोनियम सल्फेट (२१ प्रतिशत नाइट्रोजन र २४ प्रतिशत सल्फर) मिश्रित मल नेपाल भित्र्याएको हो ।
जुन, मल भारतको पञ्जाव र हरियाणा राज्यमा प्रतिवन्ध लगाइएको छ । कारण, केही समय अघि ती राज्यका किसानले सोही मल प्रयोग गरेबापत पहिलो वर्ष उत्पादन राम्रै भयो । दोस्रो वर्षदेखि उत्पादन घट्यो र माटोमा अत्यधिक अम्लीयपना र क्षारीयपना बढाएपछि त्यहाँका किसानले मल प्रयोग कम गर्दै गए ।
हरियाणा राज्यमा त सो मलको प्रयोगले माटो बिगारेपछि त्यहाँको सरकारले आसाम क्षेत्रको जंगलबाट नयाँ माटो काटेर ल्याइ हाल्नुपर्ने बाध्यता परेको तथ्य बाहिरिएको थियो । अहिले साल्टले सोही मल डीएपीभन्दा बढी मूल्यमा बिक्रि गर्न नेपाल भित्र्याएको छ । तर, कम्पनीले आफुले ल्याउनुपर्ने जिम्मामा रहेको डीएपी मल भने ल्याएको छैन । साल्टले डीएपी नल्याउँदा अहिले देशभरका किसानले गहुँका लागि मल पाइरहेका छैनन् ।
कर्पोरेशनले डीएपी अभावको मौका छोपेर सो मल बिक्रि गर्ने तयारी गरेको छ । अहिले साल्टका देशभरका गोदाममा एमोनियम सल्फेट मल मौज्दात छ । पूर्व कृषिमन्त्री पद्मा अर्यालका पालामा द्रुतमार्ग(फास्ट ट्रयाक) मार्फत खरिद गर्न स्वीकृती पाएको ५० हजार मेट्रिक टन मल अहिलेसम्म पनि ल्याएको छैन् । फलस्वरुप, यसले एकातिर किसानले मलमा पाउने अनुदानबाट वञ्चित भए अर्कोतिर महंगोमा मल किन्न बाध्यतामा फसेका छन् ।
साल्टले अनुदानित मल नल्याएर सोही मौकामा एमोनियम सल्फेट बेचेर नाफा कमाउने गतिलो ‘ट्रिक’ रचेको कतिपय किसानहरुको बुझाइ छ । साल्टले बेच्ने एमोनियम सल्फेट गैरअनुदानित मल हो, जसमा किसानले कुनै सरकारी अनुदान पाउँदैनन् । विज्ञका अनुसार, एमोनियम सल्फेटयुक्त मलमा फस्फोरसको मात्रा नहुने हुँदा सबै बालीनालीका लागि उपयुक्त नहुने बताउँछन् । खासगरी, तेलहनलगायतका केही बालीका लागि मात्र यो मलको प्रयोग उपयोगी हुने विज्ञहरुको सुझाव छ ।
‘यसले माटोको अम्लीयपना बढाउँछ । यो धानका लागि उपयोगी हुन्छ ।’ माटो विज्ञ डा. भवप्रसाद त्रिपाठी भन्छ, ‘धानबाहेक अरु बालीका लागि एमोनियम सल्फेट प्रयोग उपयुक्त हुँदैन भनेर यसअघि नै सरकारले नै प्रतिवन्ध लगाएको छ ।’ उनका अनुसार, एमोनियम सल्फेटले माटोलाई बिगार्ने भएपछि सो मलको प्रयोग न्यूनीकरण गरिएको हो । गहुँ खेतीका लागि युरिया र डीएपी जत्तिको काम एमोनियम सल्फेटले गर्दैन् ।
अहिलेकै अवस्थामा नेपालको माटोमा अम्लीयपना बढिरहेको अवस्था छ । थप यो मलको प्रयोगले माटोको अम्लीयपना बढ्दै जाने जोखिम समेत हुने विज्ञहरु बताउँछन् । यो मलको प्रयोगले माटोमा नरमपना(सफ्टनेस) लाई क्षीण गराइ माटोलाई रुखो बनाइदिन्छ ।
एमोनियम सल्फेटयुक्त मलको आयात र बिक्रि खुलेआम भइरहँदा सरकारबाट पनि स्पष्ट नीतिगत व्यवस्था हुन सकेको छैन् । जसका कारण, किसान अनुदानित मल नपाउने र महंगो एमोनियम सल्फेटजस्ता विदेशमा प्रतिवन्धित मलको प्रयोग गर्नुपर्ने बाध्यता छ ।
अन्र्तराष्ट्रिय बजारमा मलको भाउ बढेकाले ल्याउन नसकेको कम्पनीले जनाएको छ । कम्पनीका सहायक कार्यकारी अधिकृत पंकज जोशीले गैरअनुदानित रुपमा एमोनियम सल्फेट पुरानै मौज्दात रहेकाले बिक्रि गरेको बताए ।
उनले नयाँ एमोनियम सल्फेट मल नआएको दाबी गरे । उनले भारतको कुनै राज्यमा उक्त मल प्रतिवन्ध गरे पनि भारत सरकारले नगरेको स्वीकार गरे । भारतका केही राज्यमा प्रतिवन्धित मल नेपालमा ल्याएर बेच्दा यसले माटोको गुणस्तर बिगार्ने र किसानलाई ठग्न खोज्नुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘हो, तपाईले भनेको कुरा ठिक हो । यहाँले भनेको कुरामा मलाई त्यति ज्ञान भएन, त्यसैले कमेन्ट गर्न सकिनँ, यसका बारेमा मलाई थाहा छैन, अध्ययन गरेर जवाफ दिँदा राम्रो होला ।’ उनले घुमाउरो पाराले गहुँका लागि डीएपी मल ल्याउन नसक्ने बताए ।
जोशीको भनाई जस्ताको त्यस्तै……
भारतमा यो मल प्रतिवन्धित छैन्, कुनै राज्यमा गरेको होला तर, मलाई थाहा भएन् । यो मल हामीले चोरी लुकाई ल्याएका छैनौं । अहिले हामीले एमोनियम सल्फेट ल्याएका छैनौं । अहिले ल्यायो भने त्यसको भाउ बढी नै छ । यो मल अनुदानमा बिक्रि हुँदैन । यो गैरअनुदानित मल हो ।
अहिले हामीले एमोनियम सल्फेट ल्याएका छैनौं । गोदाममा पुरानै मल छ, त्यही मद पुरानै मूल्यदरमा बेचिरहेका छौं । यो मलको माग बढी नै छ । ल्याउन सकेको छैन् । करिब–करिव ५/६ महिना देखि मल आउन सकेको छैन् । कारण, मूल्यवृद्धि नै हो ।
अनुदानित मलअन्र्तगत हाम्रो वर्षभरी तीनवटा खरिद सम्झौता भएका छन् । त्यसमध्ये ‘कन्ट्रयाक’ नम्बर ९ को २५ हजार टन मल आयो । १० र ११ नम्बर कन्ट्रयाकको मल ल्याउन सकेका छैनौं । यसअगाडी नै ल्याउन खोजेपनि सकेको हामीहरुले । यसवर्ष हामीले ल्याउनुपर्ने डीएपी २५ हजार टन हो । जुन, ११ नम्बर कन्ट्रयाकबाट त्यो टेन्डर गरिएको थियो ।
हामीले गहुँ सिजनका लागि ल्याउन खोजेको हो, तर, हेरौं, मैले आउँदै भन्न पनि मिलेन् । टेन्डर गरिएको छ, आउँछ नै भन्नै पर्यो । पहिले ल्याएको मल मात्रै हामीसँग छ । अहिलेको मूल्यअनुसार ४ हजार रुपैयाँ बोरामा किसानलाई मल बेच्न सक्दैनौं ।
नक्कली मलको बिगबिगी
गहुँ छर्ने सिजन नजिकिँदै जाँदा बजारमा डीएपी, युरियालगायतको मलको चरम अभाव छ । सोही मौकामा बजारमा नक्कली मलका प्याकेटहरु भित्रिएका छन् । विभिन्न ब्रान्ड र रसायनयुक्त नक्कली मल बजार देखिन थालेको किसानहरुले गुनासो गर्न थालेका छन् ।
पछिल्लो समय डीएपी मल अभावका बेला बजारमा नक्कली मलको बिगबिगी बढेको कृषि सामग्री कम्पनी लिमिटेडका विभागीय प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए । ‘बजारमा विभिन्न कम्पनी नक्कली मल बजारमा आएको भन्ने गुनासो आएको छ’ उनले भने ।
उनका अनुसार, पछिल्लो पटक भारतबाट ६ हजार टनभन्दा बढी मल भित्रिइसकेको छ ।