कफी खेती बीमालेख जारी, बीमा शुल्क ५ प्रतिशत लाग्ने

२०७८ मंसिर १ गते प्रकाशित

काठमाडौं । बीमा समितिले कफीमा हुने क्षतिविरुद्ध बिमा गर्नका लागि उत्पादनमा आधारित कफी खेती बीमालेख जारी गरेको छ । कफी खेती बीमालेखले अग्नीजन्इ क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङजन्य क्षति, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोज तथा कीराजन्य क्षतिबाट रक्षावरण गर्ने जनाइएको छ ।

बीमालेख अन्र्तगत कफी उत्पादन(चेरी) वा बोट वा दुवैको बीमा गर्न सकिने छ । र, बीमालेखअनुसार जारी कफी खेतीको बीमाशुल्क, बीमाङ्क रकमको पाँच प्रतिशतका दरले लाग्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, सामुहिकरुपमा वा साझेदारीमा गरिएको कफी खेतीको बीमाका हकमा बीमालेख आवद्ध प्रत्येक व्यक्तिको छुट्टाछुट्टै दुर्घटना बीमा हुनुपर्ने र यस्तो बीमालेख जारी भइसकेपछि बीमाङ्क रकम परिवर्तन गर्न नपाइने प्रावधान बीमालेखमा छ ।

बिमितले बीमाशुल्कबापत भुक्तानी गरेको रकम बीमकको बैंक खातामा प्राप्त नभएसम्म बीमकले बीमालेख जारी गर्न नपाउने तर अनुदानमा प्राप्त हुने बीमालेखको हकमा भने अनुदानबाट प्राप्त हुने रकम कट्टा गरी बाँकी रकम बीमकको बंैंक खातामा जम्मा गरेपछि बीमालेख जारी गर्न पाइने व्यवस्था गरिएको बीमा समितिले जनाएको छ ।