काठमाडौं । देशभरका किसान यतिबेला धान भित्र्याएर गहुँ बाली लगाउने सुरसारमा छन् । तराईका जिल्लाका अधिकांश किसानले धान भित्र्याइसकेका छन् भने, पहाडी क्षेत्रका किसानले धान भित्र्याउन बाँकी छ । तराई र मध्य पहाडी जिल्लाका किसानले धान थन्क्याएर गहुँ लगाउने ब्यवस्तता बढेको छ । किसानहरुले गहुँको बीऊ र जात छनौट गरेर मात्र बाली लगाउनुपर्ने कृषि बैज्ञानिकहरुको सुझाव छ ।
पछिल्लो पटक, धान, मकैलगायतका बाली लगाउँदा बीऊमा समस्या देखिने, बाला नलाग्ने र उत्पादन कम हुने गरेको पाइएको छ । त्यसैले कृषि विज्ञहरुले पनि किसानले निश्चित स्थान, ठाउँ, जलवायु र तापक्रम अनुकुलित हुने स्थानका लागि सिफारीस गरिएको बीउ बिजन मात्र लगाउन सुझाव दिँदै आएका छन् ।
कृषि सुचना तथा प्रशिक्षण केन्द्रले पनि किसानलाई गहुँ बाली लगाउँदा किसानले कस्तो बीऊ छनौट गर्ने भनेर बेला बेलामा सुचना तथा प्रसार÷प्रचार गरिरहेको छ । खासगरी गहुँ बालीका लागि सबैभन्दा घातक सिन्दुरे रोग हो ।
सिन्दुरे रोग अवरोधक गँहुका सिफारिस जातहरुमा जिङ्क गँहु १, जिङ्क गँहु २, वाणगंगा, वि.एल. ४३४१, एन एल ९७१, वोर्लग २०२० तराईमा र पहाडी क्षेत्रको लागी स्वर्गद्धारी, हिमगंगा, खुमल शक्ति, भेरीगंगा, मुनाल जातको गहुँको बीऊ छनोट गरी लगाउन केन्द्रले आग्रह गरेको छ ।
