अझै ६ हजार मेट्रिक टन माछा आयात, माछामा आत्मनिर्भर कहिले ?

२०७८ मंसिर ५ गते प्रकाशित


काठमाडौं । नेपालमा अझै ६ हजार मेट्रिक टन माछा भारतबाट नै आयात भएको छ । भन्सार विभागको गत आर्थिक वर्ष २०७७/०७८ को तथ्यांकअनुसार, भारतबाट सो परिमाणको माछा आयात भएको हो ।

सरकारले यसअघि नै माछामा आत्मनिर्भर हुने घोषणा गरे पनि भारतलगायतका अन्य मुलुकबाट माछाजन्य वस्तु आयात बढेको हो ।केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रका अनुसार, हाल नेपालमा ९७ हजार टन माछा उत्पादन हुन्छ । तर, बाँकी ६ हजार मेट्रिक टन मागअनुसार अपुग भइ भारतबाट आयात हुने गरेको हो । केन्द्रका सुचना अधिकारी सुमित्रा लौडारीले विश्व मत्स्य दिवश मनाइरहँदा नेपाल करिब करिब माछामा आत्मनिर्भरउन्मुख रहेको बताइन् ।

उनले आगामी दुई वर्षभित्र नेपाल माछामा आत्मनिर्भर हुने लक्ष्य रहेको बताइन् । विश्व मत्स्य दिवशका अवसरमा आयोजित कार्यक्रम बोल्दै उनले आगामी दुई वर्षभित्र माछामा आत्मनिर्भर हुने गरी योजना बनाएको बताइन् । सो अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव(पशुपन्छी) निरु दाहाल पाण्डेलले नेपालमा माछा उत्पादको सम्भावना अत्यधिक भए पनि संगठनात्मक संरचना राम्रो नहुँदा आत्मनिर्भर हुन नसकेको बताइन् ।

आफु प्रदेश नम्बर १ मा रहँदा वरिपरी माछा पाल्न पोखरी खनेको देखे पनि त्यसको उचित संरक्षण नभएको बताइन् । माछाको व्यवसायिक उत्पादन कसरी बढाउन सकिन्छ भनेर आफुले पहल गरिरहेको उनले बताइन् । विश्व मत्स्य दिवशका अवसरमा बालाजु देखि बाइपाससम्म बाजागाजासहित प्रभातफेरी गरिएको थियो ।

बाइसधारामा पुगेर पोखरीमा माछा छाडिएर आएपछि केन्द्रमै मूल समारोहको कार्यक्रम भएको लौडारीले कृषिपानालाई जानकारी दिइन् ।