नाफा कमाउन किसानलाई गैरअनुदानित मल महंगोमा बेच्दै साल्ट

२०७८ मंसिर ८ गते प्रकाशित

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले किसानले प्रत्यक्ष अनुदानमार्फत पाउँदै आएको रासायनिक मलबाट बञ्चित गराएर गैरअनुदानित मल बिक्रि गर्न थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ग्लोबल टेण्डरमार्फत १ लाख २५ हजार टन मल ल्याउन स्वीकृती पाए पनि साल्टले सो मल नल्याई गैरअनुदानित मलको रुपमा एमोनियम सल्फेट बेच्न थालेको हो ।

एमोनियम सल्फेट अर्थात किसानले चिन्दा यो मललाई चिनी मल पनि भन्छन् । जुन, मल भारतका केही राज्यमा प्रयोगमा प्रतिवन्ध लगाइएको छ । त्यहाँका किसानले सो मल प्रयोग ज्यादै न्यून छ ।

गहुँ बाली लगाउने बेला भइसक्दा अहिले मुलुकभर डीएपी मलको अभाव चर्किदै गएको छ । सोही मौका छोपी साल्टले एमोनियम सल्फेट मिश्रित मल किसानलाई बेचिरहेको छ । सो मल साल्टले अनुदानमा दिँदैन । अन्र्तराष्ट्रिय बजारमा मूल्य वृद्धिको बहाना बनाएर साल्टले टेन्डरमार्फत मल ल्याएन नै, त्यसको मौका छोपी नाफा कमाउन किसानलाई गैरअनुदानित मल बेचिरहेको छ ।

यो पनि पढ्नुहोस, डीएपी अभावको मौका छोपी भारतमा प्रतिवन्धित मल बेच्दै साल्ट

यदि, साल्टले डीएपी वा पोटास मल टेन्डरमार्फत ल्याइदिएको भए किसानले अनुदानित मल नै पाउँथे । तर, अहिले देशभर सर्वत्र मलको चरम अभाव खेपेका किसानले उल्टै महंगोमा गैरअनुदानित मल किन्न बिबश छन् । अहिले साल्टका देशभरका गोदाममा एमोनियम सल्फेट मिश्रित मल भरिभराउ जस्तै छ । यसघि पूर्व कृषिमन्त्री पद्मा अर्यालका पालामा द्रुतमार्ग(फास्ट ट्रयाक) मार्फत खरिद गर्न स्वीकृती पाएको ५० हजार मेट्रिक टन मल अहिलेसम्म पनि ल्याएको छैन् ।

एमोनियम सल्फेटयुक्त मलमा फस्फोरसको मात्रा नहुने हुँदा सबै बालीनालीका लागि उपयुक्त हुँदैन । खासगरी, तेलहनलगायतका केही बालीका लागि मात्र यो मलको प्रयोग उपयोगी हुने विज्ञहरुको सुझाव छ । माटो विज्ञ डा. भवप्रसाद त्रिपाठी एमोनियम सल्फेटयुक्त मलले माटोमा अम्लीयपना थप बढाउने बताउँछन् । धानबाहेक अरु बालीका लागि उक्त मल उपुक्त नहुने उनको बुझाई छ ।

गहुँ खेतीका लागि युरिया र डीएपीले जत्तिको काम नगर्ने जत्तिको काम एमोनियम सल्फेटले गर्दैन् । त्यस्तै, माटोमा नरमपना(सफ्टनेस) लाई क्षीण गराइ माटोलाई रुखो बनाउने विज्ञहरु दाबी गर्छन् । कृषि विज्ञ तेजबहादुर सुवेदी खासगरी तेलहन बालीका लागि एमोनियम सल्फेट बढी उपयोगी हुने बताउँछन् । उनले गहुँ वा अन्य अन्नबालीका लागि त्यति उपयुक्त नहुने भए पनि अन्य मलसँग मिलाएर प्रयोग गर्न सकिने बताउँछन् ।

यो पनि पढ्नुहोस, देशभर डीएपी मल अभावः न ‘टेन्डर’को मल आयो, न साल्टले ल्यायो

अन्र्तराष्ट्रिय बजारमा मलको भाउ उकालो लागेकाले अनुदानित टेण्डरको मल ल्याउन नसकिएको कम्पनीका सहायक कार्यकारी अधिकृत पंकज जोशीले बताउँछन् । उनले गैरअनुदानित मलका रुपमा एमोनियम सल्फेटयुक्त मल मौज्दात रहेको बताए । तर, मूल्यवृद्धिकै कारणले नयाँ एमोयिनयम सल्फेट मल नल्याएको उनले बताएता पनि अहिले साल्टका गोदाममा सो मलकै मौज्दात बढिरहेको छ ।

साल्ट कम्पनीका नाफाखोर व्यापारीको मिलेमतोमा सो मल भित्र्याएर किसान ठगिएका छन् । एक त माटोको लागि बिगार पुर्याउने अर्कोतर्फ किसानले महंगो किन्नुपर्ने अवस्था छ । यसप्रति सम्वन्धित तालुकदार निकाय कृषि तथा पशुपन्छी विकास मन्त्रालय, आपूर्र्ति मन्त्रालयलगायतका अन्य नियमनकारी निकायको ध्यान जान जरुरी छ ।