चामलमा चुलिँदो परनिर्भरताः चार महिनामा झन्डै साढे १३ अर्बको चामल आयात

२०७८ मंसिर ९ गते प्रकाशित

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिक अवधिमा झन्डै साढे १३ अर्ब रुपैयाँ बराबरको चामल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार, भारतलगायतका दर्जन बढी मुलुकबाट सो अवधिमा नेपालले १३ अर्ब २९ करोड २७ लाख २१ हजार रुपैयाँ बराबरको चामल आयात गरेको हो ।

सबैभन्दा बढी चामल आयात भारतबाट भएको छ भने अन्य दर्जन मुलुकबाट पनि चामल नेपाल भित्रिएको हो । सरकारले देशलाई प्रमुख खाद्यबालीमा आत्मनिर्भर बनाउने योजना बनाए पनि भारतबाट चामललगायतका कृषिउपजको आयात बढ्दै गएको हो ।

विभागको तथ्यांकअनुसार, धानको बीउ, मसिनो र बासमतियुक्त चामलको आयात बढेको हो । सो अवधिमा भारतबाट मात्रै १२ अर्ब ६१ करोड ९६ लाख ९१ हजार बराबरको चामल आयात भएको छ भने चीन, बंगलादेश, थाइल्यान्ड, अमेरिका, कोरिया, भियत्नाम, अष्ट्रेलिया, जापान, इन्डोनेसियालगायतका अन्य मुलुकबाट पनि चामल आयात भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०७७/०७८ को चार महिनाको तुलनामा १. ८ प्रतिशत अर्थात २३ करोड ७२ लाख ३७ हजार रुपैयाँ बराबरको चामल बढी आयात भएको हो । अघिल्लो आवको समिक्षा अवधिमा १३ अर्ब ५ करोड ५४ लाख ८४ हजार बराबरको चामल आयात भएको थियो ।