बेला बेलामा किन उठ्छ नेपाली चियाको गुणस्तरमाथि प्रश्न ?

२०७८ मंसिर १० गते प्रकाशित

काठमाडौं । नेपाली चिया विश्व बजारमा निकै रुचाइन्छ । नेपालको निर्यातयोग्य नगदेबालीका रुपमा नेपाली चिया अन्र्तराष्ट्रिय बजारमा माग अत्यधिक र राम्रो मूल्य पर्छ । किनकी, नेपाली चिया भन्नेबित्तिकै अग्र्यानिक र गुणस्तरीय हुन्छ भन्ने छाप विश्व बजारमा परिसकेको छ । तथापी, बेला बेलामा भने नेपाली चियाको गुणस्तरमाथि प्रश्न पनि उठ्ने गरेको छ ।

केही दिनअघि मात्र भारतीय अवरोधका कारण नेपाली चियाको निर्यात रोकिएको खबर बाहिरिए । एक सातासम्म झापा र इलामका विभिन्न कारखानाबाट निर्यात हुन लागेको चियाका कन्टेनर मेची भन्सार कार्यालयमै रोकिए । फलस्वरुप, १८ ओटा कन्टेनरको दुई करोड बढीको चिया भन्सार कार्यालयको गोदाममै थन्किन पुग्यो ।

खासगरी, भारतका चिया उद्योगीहरुले नेपाली चियामा कैफियत देखिएको भन्द्यै त्यहाँको वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्म ‘डेलिगेसन’ नै गए । उनीहरुको निवेदनका आधारमा भारतको वाणिज्य मन्त्रालयले भन्सार कार्यालयहरुमा आयात रोक्न पत्र सर्कुलर गर्यो । कारण थियो, भारतमा चियाको कारोबार गर्ने व्यापारीले नेपालको चिया लगेर मिश्रण गरी दार्जिलिर्ङङको ब्रान्ड बनाएर आरोप उनीहरुले लगाए ।

त्यसआधारमा भारतको वाणिज्य मन्त्रालयले त्यहाँको चिया बोर्डलाई नेपाली चिया अनुमतिपत्र लिएर मात्र आयात गर्न ‘अथुरिटी’ दियो । भारतको चिया बोर्डको स्वीकृतीका आधारमा मात्र निर्यात गर्नुपर्दा यो समस्या आइपरेको थियो ।

अहिले भने नेपाली चिया निर्यातमा देखिएको समस्या सल्टिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद भट्टराईले नेपाली चिया निर्यातमा भारतीय पक्षको अवरोध हटिसकेको जानकारी दिए । नेपालकोतर्फ भारतलाई कुटनैतिक पत्र लेख्दै वाणिज्य मन्त्रालयले नेपाली चिया गुणस्तरीय नै रहेको पत्रमार्फत भारतीय पक्षलाई जानकारी गराएको र अहिले भने नेपाली चिया निर्यातमा देखिएको समस्या हटेको उनले बताए ।

चिया निर्यातमा बारम्बार हुने अवरोधलाई दीगो हिसावले समाधान गरेर जानुपर्नेमा पनि भारतीय पक्षसँग सम्बाद गरिएको उनले जानकारी दिए । ‘मंगलबार कै दिनदेखि चियामा देखिएको रोकावट बन्द गरियो र निरन्तर चिया निर्यात भइरहेको अवस्था छ’ उनले भने, ‘यति मात्र नभएर मैले हिजोमात्र दिल्लीस्थित नेपाल दुतावासका प्रतिनिधीहरुसँग पनि फोन संबाद गरे, यो समस्या समाधान क्षणिक नभएर दिगो हिसावले समाधान गरेर जानुपर्छ र बारम्बार चिया निर्यातमा अवरोध हुने स्थिति नहोस् भन्ने उद्धेश्यले हामीले पहल गरिरहेका छौं ।

नेपाली चिया गुणस्तरीय र अग्र्यानिक हुँदा हुँदै पनि चिया उद्योगी तथा व्यापारीहरुले क्षणिक लाभका लागि नेपाली चियामा अन्य अन्य कमसल गुणस्तरको चिया मिसाएर बेच्दा पनि यो समस्या निम्तिएको विज्ञहरु बताउँछन् । पछिल्लो घटनाक्रमले पनि त्यही देखाउँछ ।

हुन त नेपालमा चियाको प्रशोधनमा प्रयोग गरिने प्रविधि कमजोर छ । चियाको आर्ट(कला) र टिपाई पनि बिग्रने कारण कुनै बेला गुणस्तरमा माथि प्रश्न उठ्ने गरेको छ । चिया बनस्पतिजन्य उत्पादन हो । त्यसको गुणस्तरलाई प्रभाव पार्ने तत्व भनेको हावा, पानी, माटो, भूगोललगायत हुन् । ती कुराहरु सुहाउँदो र नेपालको ‘भर्जिन ल्यान्ड’मा उत्पादन हुने हुँदा पनि नेपाली चियाको गुणस्तर राम्रो हुने गर्छ ।

त्यतिमात्र होइन्, नेपाली चियाका बोट(बुसं) हरु जवान(योङ) खालका हुन्छन् । नेपाली चिया गुणस्तरीय हुँदा हुँदै पनि बेला बेलामा गुणस्तरका नाममा किन चिया निर्यातमा अवरोध हुन्छ ? किन नेपाली चियाको गुणस्तरमा माथि हमला गरिँदैछ ? सोचनीय बिषय उब्जिएको छ ।

नेपालमा सीटीसी र अर्थोडक्स चिया उत्पादन हुन्छ । जुन सबै अग्र्यानिक हुँदैन् । अग्र्यानिक प्रमाणित(सटीस्फाइ) गरिएको चियालाई अग्र्यानिक भने निर्यात हुन्छ । अर्थोडक्स चिया छ भने त्यहीअनुसार नै निर्यात गर्न अनुमति छ ।

नेपाल र भारतबीच दुई देशीय कुटनैतिक पहल गरेर समस्याको दीगो समाधान खोज्नुपर्ने बताउँछन, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनाल । ‘समस्या आउँछ, भन्सारलाई भन्ने, परराष्ट्रलाई भन्ने भन्दा पनि दीगो समाधान भनेको दुई देशीय कुटनैतिक वार्ता वा छलफलहरुबाटै गर्नुपर्छ’ उनले भने ।

उनले चिया उत्पादन हुने क्षेत्रका स्थानीय किसान र उद्योगीहरुबीच समन्वय र वार्ता गर्नुपर्ने आवश्यकता औल्याए । ‘पारी सिलुगुढीका व्यापारीबाट सिर्जना भएको समस्या हो कि भन्ने आशंकामा हामी पुगेका छौं अहिले’ उनले भने, ‘किनभने भारत सरकारले नेपाल सरकारलाई चियामा चुनौती दिएको जस्तो दुई देशको झगडा हो जस्तो मलाई लाग्दैन, यो त्यहाँका व्यापारीहरुले नेपालको चियालाई ‘डिसकरेज’ गर्न सकिन्छ कि भन्ने तरिकाले अघि बढ्न खोजेका हुन् ।’

त्यसका लागि नेपालको झापा, इलामका चिया व्यापारी र भारतका चिया व्यापारीबीच राम्रो सम्बन्ध हुनुपर्ने उनले बताए । नेपाली चियाको गुणस्तर लगायतका अन्य कुराले निर्यातमा पटक–पटक अवरोध र समस्या हुँदै आएको राष्ट्रिय चिया तथा कफी विकास कार्यालय इलामका प्रमुख इन्द्र अधिकारी बताउँछन् । सीटीसी र अर्थोडक्स चियाको उत्पादन र गुणस्तर वृद्धिमा एकदमै ध्यान दिन जरुरी रहेको उनी बताउँछन् ।

चियाको अहिले पाइरहेको मूल्यभन्दा केही बढाएर निर्धारण गर्नुपर्ने र किसानलाई प्रोत्साहन दिने कार्यक्रम ल्याउनुपर्ने उनी बताउँछन् ।‘अहिले पाइरहेको भन्दा मूल्य केही बढाउनुपर्यो । कृषकको पनि अहिलेको समयअनुसारको लागत र उत्पादन खर्चअनुसार मूल्य बढाउनुपर्छ । किनकी गुणस्तर राम्रो हुने बित्तिकै त्यसको मूल्य बढी नै पर्छ ।’ उनले भने ।

भारतको कलकत्तामा भएको सेन्टर फुुड ल्याबमार्फत नेपाली चियाको गुणस्तर परिक्षण गरेपछि मात्र निर्यात गर्नुपर्ने व्यवस्था छ । पूर्वी नेपालको इलाम र झापामा उत्पादन हुने चिया भारत हुँदै तेस्रो मुलुक निर्यात हुन्छ । भारतमा पनि दार्जिलिङको ब्रान्डको चियाको छुट्टै विश्वबजारमा छाप छ ।

नेपाली चियाको गुणस्तरमाथि हुने समस्या, कमीकमजोरी के हुन सक्छन् भनेर पहिचान गरेर समाधानका लागि बहस हुनुपर्ने बताउँछन, गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाँई ।

खासगरी, चिया उद्योगको क्षेत्रमा बिचौलियाँ व्यापारीहरु पसेपछि गुणस्तर खस्किदै गएको उनको दाबी छ । ‘ बिचौलियाँ व्यापारीहरु पसेपछि हाम्रो चियाको गुणस्तर खस्किदै गयो, सातवटा बगान सरकारले कौँडीका भाउमा दियो ।’ उनी भन्छन, ‘उनीहरुले परिमाण(क्वान्टीटी)मा गए गुणस्तर(क्वालिटी) मा गएनन् ।’

उद्योगी वा व्यवसायीको उद्धेश्य नाफा कमाउने हुँदा गुणस्तरमा भन्दा बढी परिमाणमा उत्पादन गर्न केन्द्रीत भएको उनको भनाई छ । उनले उत्पादन बढाउँदै गुणस्तरमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउँछन् ।

चियाको उत्पादन र निर्यात कति ?

नेपाल चिया उत्पादनका दृष्टिकोणले उपयोगी मुलुक मानिन्छ । हाल नेपालका २८ ओटा जिल्लामा व्यवसायिक चिया उत्पादन हुँदै आएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७६/०७७ मा २ करोड ४१ लाख १८ हजार केजी चिया उत्पादन भएको थियो ।

कुल १६ हजार ९०५ हेक्टर क्षेत्रफलमा चिया उत्पादन भएको थियो । सो अवधिमै २ अर्ब ७८ करोड २८ लाख ४६ हजार रुपैयाँ मूल्य बराबरको ११ हजार १८५.२ मेट्रिक टन चिया निर्यात भएको थियो ।

आव २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको १ करोड १९ लाख २० हजार ७ सय ३६ केजी चिया निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । सो अवधिमा १५ करोड १३ लाख १२ हजार रुपैयाँ बराबरको ३ लाख ४६ हजार ८ सय ६ केजी चिया आयात भएको छ ।

अर्घाखाँची–अर्घाखाँचीका एक साधारण किसानले सिंहदरबार पुनर्निर्माण तथा घाइतेको उपचारका लागि अकबरे खुर्सानी बेचेर संकलन …