काठमाडौं । बागमती प्रदेशमा चालु आर्थिक वर्षमा फलफूल तथा मसलाको उत्पादन २.५ प्रतिशतले बढेको छ । त्यसैगरी स्याउ उत्पादन ६१.४ प्रतिशत, मसलाको उत्पादन १०.९ प्रतिशत, चिया उत्पादन ७४.२ प्रतिशत र अन्य फलफूलको उत्पादन ३.५ प्रतिशतले बढेको हो । भने सुन्तला उत्पादन १०.६ प्रतिशत, कफी उत्पादन ८.६ प्रतिशत र आँपको उत्पादन ४.८ प्रतिशतले घटेको छ ।
गत वर्ष आँप उत्पादन ३३.८ प्रतिशत, केरा उत्पादन ४.७ प्रतिशत, चिया उत्पादन ५९.८ प्रतिशत र कफी उत्पादन ७.४ प्रतिशतले बढेको थियो भने सुन्तला उत्पादन ०.८ प्रतिशत, स्याउ उत्पादन ३.९ प्रतिशत, मसला उत्पादन ३.४ प्रतिशत र अन्य फलफूल उत्पादन ११.२ प्रतिशतले घटेको थियो ।
यस प्रदेशमा आर्थिक वर्ष २०७७÷७८ को कुल फलफूल तथा मसलाको उत्पादनमा मसला (अदुवा, वेसार आदि) उत्पादनको हिस्सा २३.० प्रतिशत रहेको छ भने चिया उत्पादनको हिस्सा ०.१ प्रतिशत रहेको छ । यसैगरी, फलफूलमध्ये सुन्तला उत्पादनको हिस्सा कुल फलफूल तथा मसला उत्पादनको १९.५ प्रतिशत रहेको छ भने स्याउ उत्पादनको हिस्सा कुल फलफूल तथा मसला उत्पादनको ५.२ प्रतिशत रहेको छ ।
खाद्य तथा अन्य बालीको उत्पादनमा काभ्रेपलाञ्चोक जिल्लाको हिस्सा सबैभन्दा बढी १७.१ प्रतिशत र रसुवा जिल्लाको हिस्सा सबैभन्दा कम २.५ प्रतिशत रहेको छ (तालिका २.२) । तरकारी तथा बागवानी उत्पादनमा काभ्रेपलाञ्चोक जिल्लाको हिस्सा सबैभन्दा बढी २३.९ प्रतिशत र मकवानपुर जिल्लाको हिस्सा सबैभन्दा कम ०.५ प्रतिशत रहेको छ । यसैगरी, फलफूल तथा मसला बालीको उत्पादनमा सिन्धुली जिल्लाको हिस्सा सबैभन्दा बढी २९.२ प्रतिशत रहेको छ भने काठमाडौं जिल्लाको हिस्सा सबैभन्दा कम ०.४ प्रतिशत रहेको छ ।
समीक्षा वर्षमा तरकारी बालीले ढाकेको क्षेत्रफल २.३ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा उक्त क्षेत्रफल ०.८ प्रतिशतले बढेको थियो ।