काठमाडौं । अहिले देशभरका अधिकांश किसानले गहुँ बाली लगाइसकेका छन् । केही भाग गहुँ छर्ने काम अझै भइरहेको छ । गहुँ बालीका लागि आवश्यक पर्ने रासायनिक मलका रुपमा डीएपी मल बढी प्रयोग हुन्छ । उक्त मल यसवर्ष किसानले सहजै पाउन सकेनन् ।
अधिकांश किसान बाली लगाउने बेलामै मल पाएनन् । मल गोदाम र डीपोहरुमा चाहार्दा समेत किसानले मल पाएनन् । तर, पनि किसानले गहुँ बाली लगाइसकेका छन् ।
मल विक्रि वितरण गर्ने सरकारी निकाय कृषि सामग्री कम्पनीका अनुसार, गहुँ ‘सिजन’मा डीएपी मल अन्र्तराष्ट्रिय मूल्यवृद्धिका कारण महंगिदा खरिद प्रक्रियाको मल आएन् । आपूर्तिकर्ता कम्पनीले सम्झौता गरिएभन्दा महंगो दरमा मल आपूर्ति नगर्दा मुलुकभर मलको हाहाकार नै भयो ।
यद्यपी, गहुँ सिजनका लागि मागभन्दा कम परिमाण डीएपी मल आपूर्ति गरि जेनतेन धानेको कम्पनीका विभागीय प्रमुख राजेन्द्रबहादुर कार्की बताउँछन् ।
डीएपी मलको अभाव रहे पनि ठूलो हल्ला हुन नपाएको उनको भनाई छ । ‘हामीले असोजमा नै २३ हजार टन डीएपी मल बेचेका थियौं । त्यसले पनि मल अभावको ठूलो हल्ला हुन पाएन । हल्ला गर्ने पार्टीले त्यसअघि नै मल लगिसकेको थियो’ उनले भने, ‘मल नपाउने सामान्य किसानले त हल्ला गर्ने नै भए ।’
गहुँलगायत हिउँदे बालीका लागि कुल ७० हजार टन डीएपी मलको माग हुन्छ । तर, गहुँ सिजनका लागि मुस्किलले २५ हजार टन आपूर्ति भयो । यता, साल्ट ट्रेडिङ कर्पोरेशनले डीएपी मल नल्याउँदा मागअनुसारको डीएपी आपूर्ति हुन सकेन् । साल्टले यसअघि नै ल्याइसक्नुपर्ने ५० हजार टन युरिया र २५ हजार टन डीएपी मल अहिलेसम्म पनि ल्याएको छैन् ।
अन्र्तराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण आपूर्तिकर्ता कम्पनीले मल ल्याएका छैनन् । फलस्वरुप, किसानले बाली लगाउने समयमै मल नपाउने बाध्यता अझै छ ।
अहिले पनि कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका गोदाममा मौज्दात मल छैन् । रासायनिक मलको अभाव ज्यूँको त्यूँ छ ।
किसानले हरेक वर्ष भोग्दै आएको रासायनिक मलको कहालीलाग्दो समस्याको जड समाधानतर्फ सरकारले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।