काठमाडौं । सरकारले हरेक वर्ष तोक्दै आएको ऊखुको न्युनतम समर्थन मूल्य यसवर्ष पनि निर्धारण गर्ने तयारी गरेको छ । ऊखु क्रसिङको सिजन सुरु भएसँगै ऊखुको किसान मूल्य र खरिदका लागि समर्थन मूल्य तोक्न लागेको हो ।
न्युनतम समर्थन मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसअघि नै ऊखु उत्पादन हुने पकेट क्षेत्रमा कर्मचारीको टोलीलाई विवरण संकलनका लागि पठाएको थियो । मूल्य कति बढेको छ, ढुवानी,उत्पादन लागतका आधारमा ऊखुको समर्थन मूल्य तोक्ने मन्त्रालयको तयारी छ ।
गत वर्षको तुलनामा यसवर्ष मूल्यवृद्धिका कारण ऊखुको समर्थन मूल्य केही बढ्ने आंकलन गरिएको छ । यद्यपी, ऊखुको समर्थन मूल्यसम्वन्धि प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउने छ । र, मन्त्रिपरिषद्ले उक्त प्रस्तावउपर निर्णय गर्नेछ ।
मन्त्रालयले ऊखुृको प्रारम्भिक प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ । केही दिनभित्र उखुको समर्थन मूल्य मन्त्रिपरिषद्बाट निर्णय भएर आउने मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए ।
गत आर्थिक वर्षमा सरकारले ऊखुको प्रतिक्विन्टल सर्मथन मूल्य ५४४ रुपैँया तोकेको थियो । जसमा किसानले ऊखु बिक्रि गरेबापत प्रतिक्बिन्टल ६५ रुपैयाँ सरकराले अनुदानको रुपमा दिँदै आएको छ ।