युवाहरु विदेशतिर पस्ने, पढ्ने उमेरका केटाकेटीहरु पढाइको निहुँमा सहर बजार चाप्ने र गाउँमा बुढाबुढी मात्रै । काम गर्ने जनशक्तिको अभावका कारण उर्वर जग्गा बाँझै राख्ने क्रम बढ्दै गएको देखिन्छ । तराइमाभन्दा पहाडी भेगमा जग्गा बाँझो राख्ने क्रम उच्च देखिन्छ । सरकारको आधिकारिक अध्ययन प्रतिवेदन आउन बाँकी रहे पनि भूमि आयोगका अनुसार २० देखि ४० प्रतिशतसम्म र राष्ट्रिय बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका अनुसार २५ देखि ४० प्रतिशतसम्म खेतीयोग्य जमिन बाँझै रहेको देखिन्छ। सरकारी जग्गा पनि धेरै मात्रामा बाँझै रहेको देखिनु कृषिप्रधान मुलुक नेपालको लागि दुर्भाग्यको कुरा हो ।
जमिनको अधिकतम उपयोग गरेर मुलुकलाई स्वनिर्भर स्वाभिमानी समृद्ध मुलुक बनाउनुको सट्टा भएको जग्गा जमिन पनि बाँझो राख्ने प्रवृत्ति बढ्दै जानु चिन्ताको विषय हो ।लोग्ने विदेशतिर हानिएपछि श्रीमती बजारतिर छोराछोरी च्यापेर कोठा खोज्न थाल्ने, गाउँमा खान पुग्ने पर्याप्त जमिन छँदाछँदै चटक्क छाडेर व्यापार व्यवसायको नाममा बजारतिर झर्ने , युवायुवतीहरु विदेशको लागि खुट्टा उचाल्ने , भएको जग्गाजमिन खनी खोस्री स्याहारसुसार गर्नुभन्दा त्यत्तिकै छोड्ने र वनमारा फुलाउने प्रवृत्तिले परनिर्भरता बढ्दै गएको छ ।
पहिले तीन बाली हुने जग्गामा दुई बाली र दुई बाली अनाज हुने जग्गामा अहिले पूरै बाँझै राखिएको अवस्था देखिन्छ । नाम कृषिप्रधान मुलुक तर अन्नका लागि अन्य मुलुकसँग निर्भर हुँदै जाँदा कालान्तरमा स्वदेशभित्र अन्न उत्पादन कम भई खाद्य सङ्कट सिर्जना भई भोकमारीको समस्या निम्तिने अवस्था नआउला भन्न सकिंदैन ।
एकातिर सशस्त्र द्वन्द्वसंगै जनसङ्ख्याको ठुलो हिस्सा विस्थापन हुने क्रमसँगै खेतीपातीमा मन्दी आयो भने रासायनिक मल बिउ बिजन उचित मात्रामा नपाइने, भएको फसल पनि जङ्गली जनावरले खाइदिँदा , लगानी अनुसार प्रतिफल प्राप्त नहुँदा कृषकहरु कृषिप्रति नै उदासीन बन्दै गएका छन् । उर्वरा भूमिहरु वनमाराको झाडीमा परिणत भएका छन् वनमारा र बढ्दो वनजङ्गल बाँदर तथा जङ्गली जनावरहरूको आक्रमणको कारण पनि कृषकहरु कृषिबाट निरुत्साहित बन्दै गइरहेको देखिन्छ ।
कागजमा कृषि सम्बन्धी योजना बनाउने झोलामा लिएर हिँड्ने खेती किसानी कम गर्ने र तिनैले कृषि क्षेत्रमा प्राप्त हुने अनुदान हत्याउने प्रवृत्ति पनि देखिएको छ र बढ्दो प्रविधि र यान्त्रिकीकरणले कृषिमा धेरै लगानी गर्नुपर्ने तर उपलब्धि कम हुने, अर्मपर्म गर्यो खेतालो खोजेर बाली लगायो , उत्पादन हुने बेलामा लगानी अनुसारको प्रतिफल प्राप्त हुँदैन । सरकारले कृषि पेशालाई संरक्षण गर्दैन, दिनुपर्ने राहत समयमा दिँदैन बिउबिजन गतिलो पर्दैन, रासायनिक मल बिना नै खेतीपाती गर्नुपर्ने अवस्था छ । प्राकृतिक प्रकोप छँदैछ ।
कृषकलाई चारैतिरबाट अँध्यारो परिस्थितिको सिर्जना भइसकेपछि कृषिमा कसरी जाँगर चलोस् १ जमिन्दारहरुले जग्गाजमिन ओगट्ने खेतीपाती नगर्ने र खेती गर्नेहरुसँग जग्गा नहुने , जग्गा दलाल भूमाफियाहरुले जग्गालाई टुक्राटुक्रा पारेर घडेरीको रुपमा बिक्री गर्ने , खेतीयोग्य जमिनलाई हातले नापेर बेच्ने कङ्क्रिटको खेती लगाउने क्रम मौलाएको छ । पृथ्वीनारायण शाहले राम्रो अनाज हुने ठाउँमा घर छ भने पनि भत्काउनु भनेर त्यसै भनेका होइनन् ।
उर्वर जग्गा घडेरी बनाउने टारी टुक्रा पाखापखेराहरुलाई खेतीको लागि छुट्याउने कारणले पनि लगानी अनुसारको प्रतिफल नआउने नै भयो । खेती लगाउनेलाई जग्गा नपुग्ने र जनशक्तिको अभावमा खेतीपाती गर्न पनि नसक्ने बुढाखाडा केटाकेटीको भरमा गाउँ बस्ती रहने , जनशक्ति अभावसँगै कृषि उत्पादनमा कमी आएको जगजाहेर छ ।
जग्गा बाँझो राख्ने प्रवृत्ति उत्तरोत्तर बढ्दै गएको सन्दर्भमा नेपाल सरकारले कृषिको दिगो व्यवस्थापन भू उपयोगको नीति ल्याई कार्यान्वयन गर्नुपर्छ । भूमि बैंक स्थापना गरेर खेती गर्न चाहनेलाई भूमि उपलब्ध गराउनुपर्छ। जमिन्दारहरुले मोहियानी हक लाग्ने डरले बाँझो राख्छन् तर किसानलाई जग्गा दिँदैनन् । पछिल्लो समयमा व्यावसायिकता बढ्दै गए पनि यो सीमित मात्र छ जसले आवश्यकतालाई धान्न सक्दैन यस्तो सन्दर्भमा अब सङ्घ ,पालिका, प्रदेश सरकार गम्भीर हुनुपर्ने देखिन्छ । नेपाललाई आत्मनिर्भर स्वाभिमानी कृषि क्षेत्रमा समुन्नत समृद्ध मुलुक बनाउने हो भने अब भूमिको अधिकतम उपयोग गर्ने गर्नुपर्छ । हरित क्रान्तिका नाममा जङ्गल मात्रै बढाउने हैन हरियो वन नेपालको धन भनेर अनुपयोगी रुखहरुलाई मात्र हुर्काउने होइन । वनमा वन्यजन्तु जनावरहरूले खान मिल्ने खालका फलफूल खेती गर्ने गर्नुपर्छ यसो गर्दा वन्यजन्तुहरुले गाउँमा सताउन सक्दैनन् ।धान कोदो गहुँ मकैलाई मात्र आधार मानेर खेतीपाती गरियो भने यसबाट पर्याप्त आम्दानी गर्न सकिँदैन । माटो परीक्षण गरी माटो सुहाउँदो अन्न अन्नबाली लगाउने , बाँदरले नखाने खालका तरकारी खाद्यान्न लगाउने हो भने यसबाट मनग्ये आम्दानी गरी आत्मनिर्भर बन्न सकिन्छ । कृषि पेशालाई नाफाघाटाको मात्रै विषय बनाउनु हुँदैन।
कृषि पेशा उत्तम मानिएको थियो मानिएको पनि छ यसलाई समाज सेवाको भावनासंग गाँसेर पनि हेर्नुपर्छ धर्तीमा अन्य ऐश्वर्य ल्याएर आफू बाँच्ने र अरुलाई बचाउने आदर्श पेशाको रुपमा कृषि पेसालाई लिनुपर्छ । पैसा जति कमाए पनि खाने अन्न हो स त्यसैले खेती किसानी गर्नतर्फ लाग्नुपर्छ। कृषकलाई पाँच पिता मध्ये एक मानिएको छ । सरकारले पनि कृषकलाई उच्च सम्मान गर्दै कृषि पेशालाई मर्यादित पेशाको रुपमा अगाडि वढाउन कृषकलाई उत्साह उमङ्ग दिने गरी कृषिसम्बन्धी अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना ल्याउनु आवश्यक छ ।