महामारीपछि डेरी उद्योगको अवस्थाः पहिला किसानको दूध बिकेन, अहिले पुगेन

२०७८ पुष १२ गते प्रकाशित

काठमाडौं । कोरोना महामारीका बेला नबिकेको किसानको दूध अहिले भने बजारमा अभाव हुन थालेको छ । बजारमा दूधको अभाव भएसँगै निजी डेरी उद्योगहरुले क्षमताअनुसारको दूध कन्र्भसन(रुपान्तरण) गर्न नसकेका हुन् ।

अहिले दूध उत्पादका हिसावले ‘फ्लर्स सिजन’ हो । यो बेला दूध उत्पादन बढी हुने र खपत कम हुने गर्छ । तर, अहिले भने किसानबाट दूध उत्पादन घट्दा बजारमा दूधको अभाव देखिएको निजी डेरी उद्योगीहरुले बताएका छन् ।

दूधको खपत कम हुने हुँदा डेरी उद्योगले बढी भएको दूधलाई कन्र्भसन गरेर बटर वा धुलो दूध(एसएमपी) बनाएर राख्थे । उक्त धुलो दूधलाई चैतदेखि साउनसम्म(लिन सिजन) मा प्रयोग गर्ने गर्थे । जुन बेला दूध उत्पादन कम हुने र खपत बढी हुने गथ्र्यो ।

अहिले भने निजी डेरी उद्योगमा दूधको आपूर्र्ति घट्न थालेको डेरी उद्योगीले बताएका छन् । उनले अपुग झोल दूधको परिमाण आयात गरेर ल्याउन सके डेरी उद्योग बाँच्ने नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहाल बताउँछन् । ‘अहिले देखि नै बजारमा दूधको अभाव हुन थालिसकेको छ’ उनले भने, ‘बाहिरबाट कच्चा दूध नल्याउने कुरा किसानकै हितमा छ । तर, जति हामीलाई नपुग हो । त्यो परिमाणकै दूध आयात खुलाएर हामीले ल्याउने, त्यो गरियो भने यहाँका किसान, उपभोक्ता बाँच्ने र हामी पनि बाँच्न सक्छौं ।’

सरकारले यसअघि देखि नै झोल दूध आयातमा प्रतिवन्ध लगाएको छ । तर, डेरी उद्योगी भने बाहिरबाट झोल दूध ल्याएर भए पनि धुलो दूध कन्र्भसन गर्ने पक्षमा छन् । कतिपय डेरी उद्योगीहरुले भने धुलो दूध नै ल्याएर कन्र्भसन गर्दा उत्पादन लागत सस्तो पर्ने बताउँछन् । तर, झोल दूध बाहिरबाट ल्याएर कन्र्भसन गर्नुपर्दा महंगो पर्ने कतिपय उद्योगीको भनाई छ ।

कोरोना महामारीका बेला किसानले उत्पादन गरेको दूधले बजार पाएको थिएन् । बजार, उद्योग, कारखाना, विद्यालय, होटल तथा रेष्टुरेन्ट बन्द हुँदा दूध नबिकेर किसानले फ्याक्नु पर्यो । फलस्वरुप, किसानले गाई वा भैँसीका लागि आवश्यक पर्ने दाना वा चोकर खुवाउन पाएनन् । केही किसान पेशाबाटै पलायन भए ।

राम्रोसँग नश्लसुधार वा पोषण नगरिँदा त्यसको प्रत्यक्ष असर किसानको पशु चौपायामा पर्दा पर्याप्त दूध उत्पादन हुन सकेन् । नेपाल डेरी एशोसिएसनका अनुसार, विगतमा यतिखेर करिब ३२ लाख लिटर दूध बजारमा खपत हुन्थ्यो भने करिब ५ लाख लिटर दूध बढी हुन्थ्यो । तर, अहिले २७ लाख लिटर दूध मात्रै बजारमा खपत भइसकेको छ ।

करिब साढे ५ लाख लिटर कच्चा दूध बजारमा अभाव देखिएको दाहालले बताए । अहिले नै विकल्प नसोचिए आउँदो चैतदेखि दूधको हाहाकार नै हुने उनको भनाई छ ।