काठमाडौं । आज पुस १५ अर्थात च्याउ दिवश । च्याउ उत्पादक किसान संघ नेपालले हेटौंडामा राष्ट्रिय सम्मेलन गर्दैछ । च्याउ दिवशको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष प्रेम नारायण अधिकारीले १५ गते च्याउ दिवश र १६ गते हुने च्याउ किसानहरुको राष्ट्रिय सम्मेलन तथा च्याउ महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले दोस्रो राष्ट्रिय सम्मेलनले च्याउ उत्पादक किसानहरु संगठित भएर अघि बढ्ने प्रतिवद्वता व्यक्त गरे ।
संंघले विगत ३ वर्ष अघि २०७६ पुस ९ देखि २९ गते सम्म मेची महाकाली राष्ट्रिय च्याउ जागरण अभियान संचालन गरेकाे थियो। त्यहीक्रममा वाग्मती प्रदेशको सदरमुकाम हेटौंडामा भएको एउटा ऐतिहांसिक समारोहमा वाग्मती प्रदेश सरकार र च्याउ उत्पादक किसान संघले संयुक्त रुपमा पुस १५ गतेलाई च्याउ दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।
संघका अध्यक्ष अधिकारीले देशभरका च्याउ उत्पादक किसान साथीहरुलाई संगठित गर्दै च्याउको उत्पादन, बजार व्यवसायको अभिवृद्धिमा शसक्तरुपमा योगदान पुर्याउने मुख्य उद्धेश्य रहेको बताए । च्याउ उत्पादक किसान संघ अहिले ४० जिल्लामा विस्तार भएको छ भने ५१ हजार जना च्याउकर्मीहरु प्रत्यक्षरुपमा जोडिएका छन् ।
अहिले पनि च्याउ उत्पादक किसानलाई आवश्यक पर्ने मल, बीउ विजन नपाएर, उत्पादन पछि बजार नपाएर, लागत अनुसारको मूल्य नपाएर छटपटाइरहेका छन् । र, त्यो अवस्था च्याउ किसान र उद्यमीले पनि बेहोर्नुु परिरहेको संघले जनाएको छ ।
संघका अध्यक्ष अधिकारी भन्छन्, ‘सरकारले च्याउ बीमा जारी गर्यो, सहुलियत दरमा कृषि कर्जा उपलब्ध गराउने घोषणा गर्यो । नीतिगतरुपमा ती घोषणाहरु सही छन् । हामी त्यसको समर्थन गर्छाैं । तर पत्रकार साथीहरुलाई पनि थाहा भएकै कुुरा हो, सरकारका ती घोषणाको कार्यान्वयनको अवस्था के छ भन्ने कुरा । सरकारी घोषणाहरु, नीतिहरु कार्यान्वयन नै हुंदैनन्, भए पनि साना तथा मझौला किसानहरुले त्यस्तो सुविधा उपयोग गर्न पाउदैंनन्, पाएका छैनन्’ उनले भने, ‘सिमित ठूला उद्योगी व्यवसायी वा घरानियाहरुले मात्र त्यस्तो सुविधाहरु उपयोग गरिरहेको अवस्था छ । त्यो अवस्थाको अन्त्यगरि आम सर्वसाधारण किसानलाई सुविधा दिलाउनको लागि हामीले निरन्तररुपमा आवाज उठाउंदै आइरहेका छौं र अबका दिनमा त्यो आवाजलाई अझ शसक्तरुपमा उठाउनु पर्ने आवश्यकता छ ।’
हाल च्याउ उत्पादक किसान संघले संस्थागतरुपमा उत्पादन र बजारीकरणलाई जोड्ने पहलस्वरुप मकवानपुरमा आफ्नै १० कट्ठा जग्गामा ३ करोड रुपैंयाको लागतमा मोर्डन एग्रिकल्चर एण्ड रिसर्च सेण्टरको स्थापना गरेको छ । ३ करोड लगानीमध्ये २ करोड ५० लाख संघमा आवद्ध किसानको लगानी रहेको छ भने त्यो उद्योगको लागि ५० लाख रुपैंया कृषि ज्ञान केन्द्र, चितवनले अनुुदान सहयोग उपलब्ध गराएको छ ।