काठमाडौं । बागमति प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले च्याउ उत्पादक किसानका सबैखाले समस्या समाधानका लागि मन्त्रालय प्रतिवद्द रहेको बताएका छन । हेटौंडामा आयोजित च्याउ उत्पादक किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय च्याउ दिवश समारोह कार्यक्रममा बोल्दै मन्त्री हुमागाईले च्याउ किसानले भोग्नु परेका समस्या हल गर्न तयार रहेको बताए ।
उनले यसअघि भएका लगानी र प्रतिफलको मुल्यांकन र छलफल गर्दै उत्पन्न बाँकी समस्या समाधानमा आफुले जोड दिने बताए । ‘च्याउ किसानले मल र बीउको समस्या भोग्नुपरेको बुझेको छु । किसानलाई उत्पादनमा देखिएका समस्या समाधान कसरी गर्ने र कसरी प्रविधि विस्तार गर्ने बारेमा छलफल हुनु जरुरी छ’ उनले भने, ‘किसानका त्यस्ता समस्या हल गर्न प्रदेश मन्त्रालयले सहयोग गर्छ ।’
उनले आफू किसानकै छोरो भएकाले जुनसुकै क्षेत्रका किसानका समस्या नजिकबाट नियालेको बताए । ‘म किसान परिवारकै छोरो, किसानका जुनसुकै समस्या नजिकबाट नियालेको छु’ उनले भने, ‘ती समस्या समाधान गर्न र सहयोग गर्ने प्रतिवद्द छु ।’
सो अवसरमा प्रतिनिधि सभा अर्थ समिति सभापति कृष्ण दाहालले किसानको उत्पादनमा अनुदान दिनुपर्ने बताए । उनले कृषि अनुदान टाठापाठाले लाभ गरेको भन्दै त्यसलाई रोक्दै उत्पादन र साना वास्तविक किसानलाई अनुदान दिनुपर्ने बताए । आत्मनिर्भरताको यात्रामा च्याउ किसान अघि बढेको भन्दै वस्तुको बजारीकरणको सुनिश्चितता सरकारले गर्नुपर्ने उनले बताए ।
राष्ट्रिय च्याउ दिवशका अवसरमा संघका अध्यक्ष प्रेमप्रसाद अधिकारीले प्रतिवेदन सार्वजनिक गरे । सो अवसरमा च्याउ किसानका सम्पूर्ण गतिविधि सार्वजनिक गर्न वेभसाइट सार्वजनिक गरिएको थियो । च्याउ दिवश राष्ट्रिय सम्मेलनमा मुलुकभरबाट साढे तीनजना भन्दा बढी च्याउ किसानहरु सहभागि छन् ।
दोस्रो राष्ट्रिय सम्मेलन पुस १६ गतेसम्म चल्नेछ भने संघको नयाँ नेतृत्व चयन गरिने महासचिव सन्तोष कार्कीले जानकारी दिए ।