काठमाडौं । देशभरका किसानले जेनतेन गहुँ बाली लगाइसक्दा अझै पनि रासायनिक मलको अभाव कायमै रहेको छ । अन्र्तराष्ट्रिय बजारमा रासायनिक मलको मूल्यवृद्धि र कोरोना महामारीको बिषम परिस्थितिका कारण मलको अभाव हुन गएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
हाल अनुदानको मल आयात गर्ने कम्पनी कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको गोदाममा १२ हजार २०० मेट्रिक टन मल मात्र मौज्दात छ ।
दुवै कम्पनीका गोदाममा गरी हाल १० हजार ५०० मेट्रिक टन युरिया, १२ सय मेट्रिक टन डीएपी र करिब ५०० मेट्रिक टन पोटास गरी १२ हजार २०० मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।
उक्त परिमाणको मौजादत मलले आगामी दिनमा किसानको मागको चाप धान्न नसक्ने समेत मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयको आंकलनअनुसार, आगामी तीन महिनाका लागि मात्र कम्तीमा ७५ हजार मेट्रिक टन मल आवश्यक पर्ने देखिन्छ । तर, दुवै कम्पनीबाट भएका ग्लोबल टेन्डर र खरिद सम्झौतामार्फत हालसम्म आपूर्ति भइसक्नुपर्ने करिब १ लाख ५० हजार मेट्रिक टन मलखाद अन्र्तराष्ट्रिय बजारमा देखिएको बिषम परिस्थितिका कारण आयात हुन नसकेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताए । फलस्वरुप, देशभर मलको अभाव सिर्जना हुन गएको उनको भनाई छ ।
मलको समस्या निराकरण गर्न मन्त्रालयले हरसम्भव पहल गरेको र मल खरिद र आपूर्तिका लागि वैकल्पिक उपाय सरकार–सरकारबीच(जीटुजी)मार्फत खरिदका लागि समेत प्रयास भइरहेको उनले बताए ।
बिपम परिस्थितिमा पनि उपलव्ध मलखादलाइृ किफायती र सन्तुलित रुपमा प्रयोग गर्न र जैविक तथा प्रांगारिक मलको प्रयोग बढाउन मन्त्रालयले किसानलाई आग्रह समेत गरेको छ ।