धान उत्पादन पाँच वर्षयताकै न्यून, उत्पादकत्व ३.४७ मेट्रिक टन प्रति हेक्टरमा खुम्चियो

२०७८ पुष १८ गते प्रकाशित

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ मा धान उत्पादन घटेको छ । सो अवधिमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको र सो धान उत्पादन विगत पाँच वर्षअघि भएको धान उत्पादनको अंकसँग तुलना गर्दा हालसम्मकै न्यून उत्पादन रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा यस चालू आवमा धान उत्पादन ८.७४ प्रतिशतले कमी आएको मन्त्रालयले पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

गत आवमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । मन्त्रालयका अनुसार, धान थन्क्याउने समयमा गत २०७८ असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म भएको हावाहुरीसहितको अप्रत्यासित बर्षाले किसानको धानमा क्षति पुग्यो । खासगरी, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कन्चनपुर, बर्दिया, बाँके, कपिलवस्तुलगायत विभिन्न जिल्लामा बैमोसमी बर्षाले किसानको धानमा क्षति पुर्याउदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, गत आवको तुलनामा धान बाली लगाइएको क्षेत्रफल करिब ४ हजार हेक्टरले वृद्धि भए पनि उत्पादकत्वमा ९.०९ प्रतिशतले हस आइ उत्पादकत्व ३.४७ मेट्रिक टन प्रति हेक्टरमा सीमित हुन पुगेको छ । यसवर्षको उत्पादकत्व पनि विगत पाँच वर्षको उत्पादकत्वको हालसम्मकै न्यून रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशगत रुपमा धान उत्पादनको अवस्था हेर्दा गत आवको तुलनामा यसवर्ष गण्डकी प्रदेशमाबाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ । गत आवको तुलनामा सुदुरपश्चिम प्रदेशमा ३१.४९ र लुम्बिनी प्रदेशमा १८.३८ प्रतिशतको उच्च गिरावट रहन गएको मन्त्रालयले जनाएको छ । यता, चैतेधानको उत्पादकत्वमा गत आवको तुलनामा ०.३२ प्रतिशतले वृद्धि हुन गइ ४.६८ मेट्रिक टन प्रति हेक्टर कायम हुन आएको जनाइएको छ ।

पाँच वर्ष अघि आव २०७४/०७५ मा ५१ लाख ५० हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो । जुन, सो अवधिको तुलनामा चालू आवमा धान उत्पादनमा कमी आएको छ ।