कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितताको आरोपमा नेत्र भण्डारीसहित दर्जन कर्मचारीमाथि मुद्धा

२०७८ पुष १८ गते प्रकाशित

काठमाडौं । सरकारले तोकेभन्दा कम गुणस्तरको डीएपी मल खरिद गरेको भन्दै कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १२ जना कर्मचारीउपर मुद्धा दायर भएको छ ।

कम्पनीले डीएपी मल खरिदका लागि गरेको ठेक्का सम्झौतामा सरकारले तोकेको गुणस्तर नरहेको र कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने गुनासोको आधारमा भण्डारीसहित १२ जना कर्मचारीमाथि १ अर्व ५३ लाख २२ हजार ४०६ रुपैयाँ बराबरको माग बिगो कायम हुने गरी विशेष अदालतमा मुद्धा दायर भएको हो ।

कम्पनी र आपूर्तिकर्ताबीच भएको ठेक्का सम्झौताको स्पेसिफिकेसनको गुणस्तरभन्दा कम गुणस्तरको आपूर्ति भएको डीएपी मलमा आपूर्तिकर्तालाई ९० प्रतिशत भुक्तानी दिने र भुक्तानी एवं सर्वेयर नियुक्ति प्रक्रियामा संलग्न कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रवन्धक बिष्णुप्रसाद पोखरेल, सहायक प्रवन्धक दुर्गाप्रसाद पाण्डे, उप–प्रवन्धक पुष्कर दिप बुढासमेतले कृषि सागम्री कम्पनीलाई हानी नोक्सानी र आफुसमेतलाई लाभ लिने मनसाय लिई कार्य गरेको पुष्टि हुन आएकाले विशेष अदालतमा मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

त्यस्तै, गलत प्रतिवेदन बनाउने कार्यमा संलग्न नेपाल इन्भारोमेन्ट एण्ड साइन्टिफिक सर्भिस प्रालिका तर्फबाट सम्झौता गर्ने कम्पनीका प्रवन्ध निर्देशक सलिल देवकोटा, ल्याव निर्देशक सुनिलबाबु खत्री, संस्थामा कार्यरत सर्भेयर महेन्द्रकुमार डागा, परामर्शदाता भोलानाथ चौधर र मनोज आचार्य, जोशी बिज प्रालिका कार्यकारी निर्देशक विनित जोशीउपर भष्ट्रचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा(४) को कसुरमा निजलाई सजाय हुन माग दाबी गरिएको छ ।