रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाका नागरिक मेला मान्न हिँडेका छन् । उनीहरु पाल्पा, अर्घाखाँची र गुल्मीको सिमानामा लाग्ने रिडी गण्डकी मेलाको लागि प्रस्थान गरेका छन् । यहाँबाट मेला भनेर हिँडे पनि उनीहरुको मुख्य उद्देश्य भनेको राडीपाखी कारोबार गर्नु हो ।
जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रबाट आठ–दश जनाको समूह बनाइ मेलामा राडीपाखी कारोबारका लागि हिँडिसकेको छ । अहिले पुथाउत्तरगङ्गाको घुम्लिबाङ, तुपा, दमचन, तकसेरा, कोल, गर्खानी, हुकाम र भूमेको लुकुमलगायतका ठाउँबाट रिरी गण्डकीको लागि समूह बनाएर मानिस हिँडिसकेको घुम्लिबाङका विकास बुढामगरले जानकारी दिए।
उनीहरुले राडीपाखीसँगसँगै ओखरको घार्जी पनि बिक्री वितरणका लागि लगेका छन् । रिडी गण्डकी मेलामा राडीपाखी र ओखरको घार्जीको कारोबार राम्रो हुने भएकाले पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाका मानिसले यसै मेलालाई लक्ष्य गरी भेडाको ऊनबाट निर्मित सामग्री तयार पार्नुका साथै ओखरको घार्जी निकालेर राख्ने गरेको उनले बताए।
पुथाउत्तरगङ्गा–१० घुम्लिबाङका कुदाल्नी बुढामगरका बूढाबूढी २५ थान काम्लो बोकेर रिडी गण्डकी मेलाका लागि हिँडेका छन् । यस्तै रामप्रसाद बुढाले १२ राडीपाखी बोकेर हिँडेका छन। तकसेराकी सिर्जना बुढामगरले नौ पाथी ओखरको घार्जी बोकेर रिडी गण्डकीका लागि निक्लेका छन ।
सबै जना मेला मान्नेसँगसँगै आफूले निर्माण तथा उत्पादन गरेका विभिन्न सामग्री खपत हुने भएकाले पनि सामान बोकेर रिरी गण्डकी हिँड्ने धेरै पहिलेदेखिको परम्परा अहिलेसम्म चलिरहेको छ । भेडाको ऊनबाट निर्माण गरिएको प्रतिकाम्लोको मूल्य रु दुई हजारदेखि पाँच हजारसम्म पर्ने गर्छ भने बख्खुको मुख्य रु २० देखि २५ हजार पर्ने गरेको कुदाल्नी बुढामगरले बताए।
माघको १ गतेबाट सुरु हुने रिरी गण्डकी मेला ४–५ गतेसम्म चल्ने गर्छ । हप्ता दिन बढी लगाएर बाटोमा सामान बिक्री गर्दै र बचेको सामानलाई मेलामा गएर बिक्री गर्दै आएको उनको भनाइ छ ।
उनका अनुसार यहाँबाट नौ–दश जनाको धेरै समूह बनाएर गइन्छ । खाना पकाउने भाँडाकुँडा, चामल, दाल, पिठो सबै चाहिने सामग्री बोकेर जाने र बाटोमै खाना पकाएर खाने तथा जहाँ रात पर्छ त्यही बास बस्दै एक हप्तापछि रिरी गण्डकीको मेलामा पुग्ने गरेको उनले बताए ।
मासिन पुथाउत्तरगङ्गाको दमचन, तुपा, टाटु, ढोरपाटन, तरामटी, फलेघर हुँदै बुर्तीबाङ पुगेर त्यहाँबाट गाडीमा चढेर मेला पुग्छन् । अहिले यहाँबाट मेला मान्ने र सामान बिक्री गर्ने उद्देश्यले हिँडेका सबै जना आफूले बेचेको सामानबाट आएको पैसाले आफू र घरपरिवारका लागि किनमेल गरेर अगामी माघको ८–९ गतेमात्र घर फर्कने गरेका छन् ।
विगतका वर्षमा माघको १५ मै सबै राडीपाखी र ओखरको घार्जी बोकेर रिडी गण्डकीको यात्रा तय गर्नेहरू यसपालि हिमपातका कारण एक हप्ता ढिला गरेर गएको उनले बताए।